© २०२३
बुटवल, ४ कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन अझै १०–२० वर्ष कायम रहन सक्ने बताएका छन् । सत्ता गठबन्धनले बुटवलमा गरेको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै देउवाले संविधान,संघीयता,समावेशिता बचाउन गठबन्धन आवश्यक रहेको जिकिर गर्दै चुनावपछि पनि गठबन्धन सरकार बन्ने बताए । ‘धेरै ठूलो लडाईपछि संविधानले दिएका संघीयता,गणतन्त्र,समावेशिता समाप्त पार्ने प्रयास भइरहेको छ’–देउवाले भने–‘चुनावपछि गठबन्धनकै सरकार बन्ने हो,यो १०–२० वर्षसम्म जानसक्छ ।’ टिकट नपाएर असन्तुष्ट बनेकाहरुलाई लक्षित गर्दै देउवाले अहिले टिकट नपाएकाहरुलाई संघीय र प्रदेश सरकारमा धेरै ठाउंमा अवसर हुने आश्वासन दिए ।
सत्ता गठबन्धनको विरुद्ध राष्ट्रवादीको नाममा राजावादी शक्ति लागेको देउवाको आरोप छ । गठबन्धनका विषयमा शंका उपशंका गर्ने गराउने अवस्था आउन नदिन देउवाले बारम्बार आग्रह गरे ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली एमाले भन्दा काँग्रेस हजारौं गुणा लोकतान्त्रिक रहेको दाबी गरे । एमाले तथा अध्यक्ष केपी ओलीलाई प्रतिगमनकारी भएको आरोप लगाउँदै उनले त्यो भन्दा काँग्रेस लोकतान्त्रिक भएको दाबी गरेका हुन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ओलीले सरकारको नेतृत्व गर्दा आफू र प्रचण्डले भनेको मान्दै नमानेपछि छुट्टीनु परेको उलने बताए ।
आफूहरुले गठबन्धन गरेर मुलुकलाई निकै ठूलो संकटबाट बचाएको उल्लेख गर्दै नेपालले ओली नयाँ तानाशाह भएको आरोप लगाए ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सानातिना मनमुटाव सहेर भएपनि गठबन्धन दललाई जिताउन आह्वान गरेका छन् ।
राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीले प्रतिगमनविरुद्ध ५ दलीय गठबन्धन बनेको र आगामी निर्वाचनमा पनि कायम राख्नका लागि सत्तारुढ गठबन्धनले जित्नुपर्ने बताए ।