© २०२३
बालविवाह न्यूनीकरणका लागी स्थानिय तहमै रणनितीक कार्य योजना बनाउने तयारी शुरु गरिएको छ । नेपाल परिवार नियोजन संघ र युएनएफपिएको सहयोगमा कपिलवस्तु नगरपालिकाद्वारा आयोजित बाल विवाह न्यूनीकरणका लागि तयार गरिएको जिल्ला रणनीतिक कार्ययोजना बारेको अभिमुखीकरणमा सो बिषयको जानकारी दिईएको हो ।
नेपाल सरकारले जारी गरेको बाल विवाह बिरुद्धको रणनितकि योजना २०७२ र जिल्लामा निर्मित जिल्ला रणनीतिक कार्ययोजनाका आधारमा बालविवाह अन्त्यका लागी कपिलवस्तु नगरपालिकाले सो रणनीतिक योजना तयार गर्न थालेको हो । सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै युएनएफपिएका क्षेत्रीय प्रमुख राम थापाले कपिलवस्तु जिल्ला बाल विवाह हुने दोस्रो जिल्ला रहेको जनाउँदै कपिलवस्तुमा ६१ प्रतिशत बालविवाह रहेको तथ्याङ्क पेश गरे ।
क्षेत्रिय संयोजक थापाले स्थानीय सरकारले लिने करमा बाल विवाहलाई कडाई हुने गरि कर निर्धारण तथा नयाँ मुलुकी अपराध संहिता बारे सचेतना प्रवाह आवश्यक रहेको उनको सुझाव थियो । बालविवाहलाई कानुनले कसुर मानेको भएपनि गत आर्थिक बर्षको अबधीमा बाल विवाह बारेका दुई वटा मात्रै मौखिक उजुरी प्रहरीमा आएको प्रहरी नायब उपरिक्षक रवि रावलको भनाइ थियो । बाल विवाहका घटना आउँदा राजनैतिक दलबाट दबाब आउने गरेको उल्लेख गर्दै बाल विवाह रोक्ने अभियानलाई सबैको सरोकारको बिषय बनाउनु पर्ने उनको तर्क थियोे ।
बालविवाहको मुख्य कारक देखिएको दाइजो प्रथालाई समेत नयाँ मुलुकी अपराध संहिता ऐनले समेत कडा कारबाहीको व्यवस्था गरेको जनाए । सोहि ऐनमा २० मुनीको बालविवाह स्वतहः बदर हुने तथा त्यस्ता कार्यमा संलग्नलाई ३ बर्ष कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुन सक्ने रावलले जानकारी दिए । कार्यक्रममा बोल्ने अधिकांस वक्ताले बाल विवाह अन्त्यको कार्यक्रमका लागि कपिलवस्तु नगरपालिकाले नीतिगत निर्णय गरि सबै वडामा कार्यक्रम कार्यान्वयनमा ल्याउनु पर्ने, किशोरी शिक्षा, सचेतना र सिप बिकासलाई प्राथमिकता दिनुपर्ने तथा बालविवाह मुक्त अभियान सम्पन्न गरेका वडालाई प्रोत्साहन गर्नु पर्ने सुझाव दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा सामाजिक बिकास कार्यक्रमका संयोजक प्रकाश गैरेले कपिलवस्तु नगरपालिकाले बालमैत्री शुसासन कार्यक्रमको नीति अबलम्बन गरेको जनाउँदै बाल बिवाह न्यूनीकरण अभियानका लागी निर्मित रणनीतिका आधारमा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए । à