© २०२३
रोल्पा, ९ चैत । रोल्पाको एक सामुदायिक वनमा महिलाको अगुवाईमा मयुर संरक्षण गरिएको छ । जिल्लाको सुनिल स्मृती गाउँपालिका २ महेन्द्रीमा रहेको मयूर महिला सामुदायिक वन उपभोक्ता समूहले संकटापन्न वन्यजन्तुको रूपमा रहेको मयूर संरक्षण गरेको हो ।
३९ हेक्टर क्षेत्रफल रहेको सो सामुदायिक वन महिलाहरूले व्यवस्थापन गर्दै आईरहेका छन । सो सामुदायिक वनले रुखविरुवाको मात्रै संरक्षण गर्नुपर्छ भन्ने मान्यता हटाई वन्यजन्तु र चराचुरुङ्गीको समेत संरक्षण गरिरहेको छ । सामुदायिक वनको संरक्षण, संवद्र्धनपछि उपभोग गर्ने गरि वन कार्ययोजना वनाएपनि वनमा रहने वन्यजन्तु तथा चराचुरुङ्गीको संरक्षणमा सामुदायिक वनहरूको ध्यान नपुगिरहेको वेला उक्त सामुदायिक वनेले संकटापन्न वन्यजन्तुको संरक्षण गरिरहेको छ ।
सामुदायिक वनको नाम नै मयूर महिला सामुदायिक वन राखी सामुदायिक वनलाई मयुर पर्यटनको रूपमा विकास गर्न मयूर संरक्षणको थालनी गरेको वन उपभोक्ता समूहले जनाएको छ । संकटापन्न वन्यजन्तु संरक्षण कार्यक्रम अन्तरगत समूहले ५ वर्षे आवधिक कार्ययोजना तयार गरिसंरक्षणको काम अघि वढाएको हो । आवधिक योजना वनाउन डिभिजन वनकार्यालय रोल्पाले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो ।
“३ वर्ष अघि मयूरको संख्या सर्वेक्षण गर्दा ५०० जती भएको विवरण प्राप्त भएकोमा यस वर्ष सो संख्या करिव १ हजार ५०० जति पुगिसकेको अनुमान गरेका छौं,” समुहका अध्यक्ष तीला विकले भनिन् । मयूर मार्न हँुदैन भन्ने धार्मिक मान्यता रहेका कारण पनि मयूर संख्या वढ्न सहज भएको विकको भनाई छ । सानो क्षेत्रमायती धेरै मयूर पाइनुमा यो क्षेत्र मयूरका लागि सुरक्षित रहेको मान्न सकिने वन्यजन्तु संरक्षणका जानकारहरूको भनाइ छ । मयुरको शिकार गर्न नहुने धार्मिक विश्वासका कारण पनि यसको संरक्षणमा सहजता भएको हो मयुर सामुदायिक वनउपभोक्ता समूहका अध्यक्ष विकले भनिन । वन क्षेत्रमा अन्य वन्यजन्तुको शिकार गर्न आउने गरेको सुनिएपनि मयूर मारेको वायसका अण्डाहरू चोरेको घटनाहरू सुनिएको छैन अध्यक्ष विकले भनिन । सो वनमा पाईने भाले मयूरको तौल ५ के.जी. सम्म हुने स्थानीयको भनाइ छ ।
मयुरको वासस्थानको लागि त्यहाँको भू–बनोट, हावापानी र वनस्पति उत्तम रहेको बताइन्छ । पानीको सहज उपलब्धता, पहारिलो क्षेत्र, मानव बस्ती र खेतीबारी समेत प्रशस्त रहेकाले सो सामुदायिकवन मयुरको वासस्थानका लागी उपयुक्त भएको बताइन्छ । किरा फट्यांग्रा, फल, बालिनाली र घाँस समेत हुनाले यो क्षेत्र मयुरका लागी उपयोगी भएको हुन सक्ने सुवर्णवती सवडिभिजन वनकार्यालय सुलिचौर रोल्पाका फरेष्टर ज्ञानु सुनारको भनाई छ ।