© २०२३
घोराही उप महानगरपालिका १४ ले सडक मिचेर बनाएका टहराहरू हटाउन सुरु गरेको छ । सडक मिचेर बनाएका टहराले दुर्घटना निम्त्याउने भन्दै हटाउन सुरु गरेको घोराही उप महानगरपालीकाले जनाएको छ ।
व्यापार व्यवसाय गर्नेहरूले घरसंगै टहराहरू निर्माण गरेर सडक अतिक्रमण गरेकाले पैदलयात्रुहरू विच सडकवाटै हिँड्न बाध्य थिए । सडक अतिक्रमणगरी बनाएका टहराहरू हटाउन सुरुगरीएको घोराही उप महानगरपालीका १४ का अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए । बजार क्षेत्रमा सवारी साधनको अत्याधिक चाप बढेसंगै हटरा हटाउने कामलाई तिव्रता दिएको अध्यक्ष डाँगीले वताए । बजार क्षेत्रमा दैनिक जस्तो सवारी दुर्घटनाका कारण सर्वसाधारण नागरिकले अकालमै ज्यान गुमाउनु परेको भन्दै दुर्घटना न्युनिकरणको अभियानमा वडा कार्यालय लागेको उनको भनाई छ । सडक मिचेर टहरा बनाउँदा मानवीय जोखिमसंगै बजार क्षेत्रको शुन्दरता हराउने भन्दै यसलाई अभियानकै रूपमा अगाडी बढाउन खोजेको अध्यक्ष डाँँगीको भनाई छ ।
अभियानको पहिलो दिन घोराही १४ स्थित सब्जिमण्डी रोडमा सडक मिचेर बनाएको एउटा टहरा भत्काईएको थियो भन्ने अन्य पाँच टहरालाई एक दिनको समय दिईएको छ । “उनीहरूले मागेको समय दिएका छौ यदि त्यो समयमा आफै भत्काएनन् भने वडा कार्यालय आएर टहरा भत्काउने छ” अध्यक्ष डाँगीले भने । टहरा हटाउदा नगरको सुन्दरता संगै सडक फराकिलो हुने हुदा सडक दुर्घटना न्युनिकरण हुनेमा उप महानगरपालीका विश्वस्त रहेको छ । टहराले सडक अतिक्रमण गर्दा सवारी साधन पार्किङको समेत समस्या झेलीरहेको उप महानगरपालीकाले टहराहरू हटाई पार्किङ स्थल निर्माण गर्ने योजनामा रहेको छ । सडकमा अस्तव्यस्त पार्किङले गर्दा पनि सडक दुर्घटना हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।
केहिदिन अगाडि जिल्ला ट्राफिक प्रहरी कार्यालय र उप महानगरपालीका विच पार्किङस्थल तोक्ने गरी स्थान पहिचान गर्ने निर्णय भएको थियो । अहिले बजारमा भैरहेको अव्यवस्थीत पार्किङले सवारी आवागमनमा समस्या भएकोले पार्किङस्थल निर्माण गर्नुपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयको अनुरोधलाई कार्यान्वयन गर्न स्थानको खोजीमा लागेको समितिका संयोजक तथा घोराही उप महानगरपालीकाका उप प्रमुख सीता न्यौपानेले जानकारी दिईन् । “घर संगै टहराहरू निर्माण गरी सडक अतिक्रमण भैरहेकोले सडक छेउको कुन कुन ठाँउमा पार्किङ स्थल बनाउन सकिन्छ भनेर टहराहरू हटाउन सुरु गरीएको छ” न्यौपानेले भनिन् । बजारका सबै टहराहरू हटाईसकेपछि कुन स्थान पार्किङका लागि उपयुक्त हुन्छ त्यसैमा पार्किङ गर्ने व्यवस्था मिलाउने उनको भनाई छ ।
टहराहरू भत्काउन सुरु गरेको १४ नं वडाले अहिले पक्की सडकमा पार्किङ लाईन छट्टाईने भएको छ । वडा कार्यालयले तत्काल पार्किङ लाईन विस्तारको कामलाई सुरु गर्ने अध्यक्ष डाँगीले जानकारी दिए । वडा नं १४ को बाल मन्दिर चौक, सब्जिमन्डी रोड, लखनपार्क, पुरानो वसपार्क, नयाँ बसपार्क, बैङ्क रोड, सब्जिमन्डी रोड जाने धुव्र मेडिकल अगाडी सडकमा पार्किङ लाईन बनाउने तयारी गरेको अध्यक्ष डाँगीले बताए । “बजार क्षेत्रमा गाडी पार्किङका लागि विभिन्न स्थानहरूको पहिचान गरीरहेका छौ उपयुक्त स्थानमा मझौला सवारीसाधनको पार्किङ स्थल समेत छिटै तोकिने छ” अध्यक्ष डाँगीले भने ।