© २०२३
प्रदेश नम्वर ५ को मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश योजना आयोगको सदस्यमा गुल्मिका डा.बिष्णु प्रसाद गौतमलाई नियुक्ति गर्ने निर्णय गरेको छ । काठमाडौंबाट स्नातक गरेका गौतमले जापनबाट स्नातकोत्तर, क्यानडाबाट बिद्याबारिधि गरेका छन् । चुरे तथा सिद्धबाबा क्षेत्रको पहाडको बिषेश अध्ययन गरेका गौतम काठमाडौं बिश्व बिद्यालयका प्राध्यापक समेत हुन् ।
यस्तै प्रदेश सरकारको सार्वजनिक खर्चको मापदण्ड, कार्यबिधि र मितव्ययिता सम्वन्धि निर्देशिका २०७५ स्वीकृत गरेको छ ।
मंगलवार साँझ बुटवल स्थित प्रदेश मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकले प्रदेश सरकारले प्रदेश अन्र्तगतका स्थानीय तहले गर्ने कार्यक्रममा अनियन्त्रित खर्च हुन नदिन निर्देशिका स्वीकृत गरेको भौतिक योजना तथा पुर्वाधार बिकास मन्त्रि समेत रहेका सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
बैठकले पुर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाले केन्द्र परिवर्तनका लागि दुई तिहाई बहुमतले निर्णय गरी पठाएकाले संघिय सरकारलाई शिफारिस गर्ने निर्णय गरेको छ । यसैबिच प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नम्वर ५ मा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाका कामको प्रगतिका सम्बन्धमा आयोजना प्रमुखहरूसंग जानकारी लिएका छन् ।
प्रदेशका सबै मन्त्री तथा सचिवहरूलाई साथमा राखेर मंगलबार आफ्नै कार्यालयमा मुख्यमन्त्री पोखरेलले आयोजनाका प्रमुखहरूसंग आयोजनामा अहिलेसम्म भएको काम, खर्च रकम, बाँकी काम र परियोजना सम्पन्न गर्न लाग्ने समय तथा रकमका सम्बन्धमा जानकारी लिएका हुन् ।
त्यसअवसरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका आयोजना प्रमुख ओम शर्मा, लुम्विनी बिकास कोषका योजना प्रमुख सरोज भट्टराई, बवई सिंचाई आयोजनाका प्रमुख कुञ्जनभक्त श्रेष्ठ, सिक्टा सिंचाई आयोजनाका बरिष्ठ इञ्जिनियर प्रबिण श्रेष्ठ, भरी डाईभर्सन आयोजनाका प्रमुख ओम प्रकाश पुडासैनी लगायतले आयोजनामा भइरहेको काम र समस्याका सम्वन्धमा जानकारी गराएका थिए ।
आयोजनाको समग्र जानकारी लिएपछि मुख्यमन्त्री पोखरेलले प्रदेशमा सञ्चालित सबै आयोजनाको प्रतिवेदन संघीय सरकारलाई पठाउने र समस्या भए समाधान गरी समयमा नै सम्पन्न गर्न पहल गर्ने आश्वासन दिँदै आयोजनाको काममा कुनै कम्प्रमाइज नगर्न प्रमुखहरूलाई निर्देशन पनि दिए ।à