© २०२३
गरिब घरधुरी परिचयपत्रमा अधिकांस बास्तबिक गरिबहरूको नामावली छुटेको भन्दै कपिलवस्तु नगरपालिकाको नगर कार्यपालिका बैठकले परिचयपत्र बितरण नगर्ने निर्णय गरेको छ । बैठकमा अधिकांस बास्तविक गरिबहरूको नामावली नै छुटेको ठहर गर्दै मन्त्रालयलाई पुनः नामावली संकलनको लागि माग गर्ने निर्णय गरिएको हो । बैठकमा सहभागी अधिकांस समितिका सदस्य तथा वडा अध्यक्षले वास्तविक गरिबको नाम छुटेको परिचयपत्र बितरण औचित्यहीन हुने भन्दै सो परिचयपत्र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा नै फिर्ता पठाउने निर्णय गरेका हुन् । बैठकमा सहभागी नगर समिति सदस्य उर्मिला कोरीले सम्पन्न व्यक्तिको नाम गरिबको सूचिमा रहे पनि गरिबको नाममा परिचयपत्र नआएको गुनासो गरिन् ।
“अधिकांस वास्तविक गरिब र बिपन्नको नाम गरिब परिचयपत्रमा छुटेपछि परिचयपत्र नबाँड्ने निर्णय गरेका हांै । सो बिषयमा पुनः तथ्याङ्क संकलनका लागि मन्त्रालयसँग माग गर्ने समेत निर्णय गरेका छौं ।” वडा नम्बर १० का अध्यक्ष मोहन शर्माले भने ।
गरिबले नै परिचयपत्र नपाउने अवस्थामा परिचय पत्र बितरणको औचित्य नहुने भएपछि आफूहरूले परिचयपत्र मन्त्रालय फिर्ता पठाउने निर्णय गर्न बाध्य भएको १२ नम्बर वडाका अध्यक्ष ओमप्रकाश पाण्डेयले जानकारी दिए ।
नगरमा बाँड्नका लागी आएको परिचयपत्रमा बास्तविक गरिबहरू नै छुटेको भेटिएपछि सो बिषयको संसोधनका लागि सम्पूर्ण परिचयपत्र नगर कार्यपालिकाको बैठकले मन्त्रालयमै फिर्ता पठाउने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्यले जानकारी दिए ।
कपिलवस्तु नगरपालिकामा कुल ३ हजार ४ सय ७५ घरधुरी गरिब रहेको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । बैठकमा परिचयपत्र फिर्तासँगै तौलिहवा–बहादुरगंज सडक बिग्रीदा दुर्घटना बढेको र नगरबासीलाई सास्ती भएको जन गुनासो आएकाले सो सडकलाई स्तरोन्नतिका लागी डिभिजन सडक कार्यालय र शहरी बिकास मन्त्रालयको ध्यानाकर्षण गराउने, पुर्ण शिक्षा र पुर्ण साक्षर घोषणा कार्य अघि बढाउने तथा नगर परिषदको निर्णय अनुसार नगर क्षेत्रमा फुसको घर बिस्थापन गर्ने योजना अनुरूप तत्काल चार वटा वडामा कार्यक्रमलाई अगाडि बढाउने निर्णय गरिएको नगर प्रमुख किरण सिंहले बताए ।
photo sorce : Google