© २०२३
कपिलवस्तु, १२ पुस । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ प्रगतीनगरमा १८ घरधुरी नटुवा समुदायको बसोबास छ । तर, सो समुदायको शिक्षा, स्वास्थ्य र रोजगारको अवस्था भने अझै दयनिय छ । सो समुदायका व्यक्तिहरूको न त जग्गा जमिनको स्थाई स्वामित्व छ न त स्थायी आय आर्जनको श्रोत नै छ ।
आर्थिक रूपमा अति विपन्न नटुवाहरूको विगत देखीकै सर्प नचाउने, नाचगान, कला प्रदर्शन, सर्कस देखाउने, शिकार गर्ने, मह काढ्ने काम पुर्खेली पेशा हो । सोहि पुर्खेली पेशाका कारण उनीहरूको जिवन घुमन्ते शैलीमा बित्दा उनीहरू प्रायको स्थायी बसाई र रोजगारी सुनिश्चित हुन पाएको थिएन । पछिल्लो समय प्रबिधि र आधुनिकताको बिकाससँगै उनीहरूको पुर्खेली पेशा प्रति आम जनमानसको रुची घटेको छ । जसका कारण सो समुदाय अहिले मागेर जिविकोपार्जन गर्ने कार्यमा बढि निर्भर छ ।
आफुहरूको अन्य पेशा नभएको र मागेर परिवार पाल्न सक्ने अवस्था अब नरहेको नटुवा समुदायका अगुवा बताउँछन । मागेर ल्याएकोले खानै नपुग्ने भएपछि बालबालिकालाई शिक्षा दिक्षा दिने बारेमा सोच्नै नसकिएको प्रगतीनगरकी बदरुन नटुवा बताउँछिन । “मागेर नल्याई खाने जोहो हुँदैन । छोराछोरी कसरी पढाउने ?” उनले भनिन । ५८ बर्षिय बदरुन रुखको फेद मुनीको पालमा बिवाह गरेर रुखको फेदमुनी नै बालबच्चा हुर्काएको अनुभव सुनाउँछिन् ।
आफूहरूको अरू कुनै रोजगारी र आम्दानीको श्रोत नभएकै कारण बाध्य भएर भिक्षा माग्न जाने गरेको सोही स्थानका कृष्ण नेटुवा बताउँछन । “एक जनाले ज्याला मजदुरी गरेर परिवार चल्दैन । माग्न गयो हातखुट्टा सग्लै छन, माग्न हिँडछस भनेर कतिले त गाली गर्छन । हामीलाई रोजगारीको व्यवस्था भए माग्दै हिँड्न कहाँ रहर छ र !” कृष्ण भन्छन । आफूहरूलाई राज्यले उचित व्यवस्थापन गरे परिवारका सदस्य र उमेर पुगेका चेलीबेटीलाई अरूका घरघरमा माग्न पठाउने कुनै रहर नभएको उनले बताए ।
आफुहरू छैठौं पुस्तादेखि नेपालमा बस्दै आएको भए पनि राज्यले आफूहरूलाई ध्यान नदिएको मायादेवी गाउँपालिका वडा नम्बर २ अभिरावका पहलाद नटुवाले बताए ।
“हामी भन्दा सम्पन्न पथ्थरकट्टा समुदायको संख्या हामी भन्दा बढि छ । तर हामी संख्यामा कम र कमजोर आर्थिक अवस्थाको भए पनि राज्यले लोपोन्मुखमा सुचिकृत गरेको छैन । यो हामी र हाम्रा सन्तान माथिको अन्याय हो,” उनले भने । दल र नेताहरूले आफुहरू सँग निर्वाचनमा मत लिए पनि आफूहरूलाई लोपोन्मुख जातीमा सुचिकृत गराउन कुनै पहल नगरेको प्रहलादको गुनासो छ । उनी जस्तै प्रगती नगरका रामउग्र नटुवाको पनि सरकार सगै गुनासो छ । “हाम्रो कष्टकर जिवन कसैले बुझेन । हामीलाई सरकारले निगाह नै गरेन ।” उनले भने । प्रगतीनगर गाउँमा रहेका नटुवा समुदायको पहाडी समुदाय सँग घुलमिल हुन थालेकाले पछिल्लो समय बालबालिकालाई बिद्यालय पठाउन थालेका छन । तर छोराछोरीलाई बिद्यालय पठाउँदा मागेर परिवार चलाउन अभिभावकहरू मात्रै जानु पर्दा उनीहरूलाई परिवार चलाउनै सकस पर्ने गरेको छ ।
तिनै तहका सरकारी योजना र कार्यक्रमको प्रभावकारी नहुदाँ नटुवा समुदाय आधारभुत स्वास्थ्य सेवा लिन बाट बंचित देखिन्छन । जसको उदाहरणको रूपमा बालबिवाह गरेका अभिरावका २६ बर्षका सुर्यजित नटुवाका ५ सन्तान छन । परिवार नियोजन बारेको ज्ञान समयमै नपाउदाँ बढि सन्तान जन्मिएको उनले अनुभव सुनाए । तर पछिल्लो समय धेरै सन्तान भएर परिवार चलाउनै समस्या हुदाँ परिवार नियोजनाको अस्थायी साधन प्रयोग गर्न थालेको उनले बताए । उनी जस्तै प्रगती नगरका दिलिप नटुवाका ५ सन्तान जन्मिए पछि श्रीमतीको स्थाई बन्ध्याकरण गराएका छन । “पहिले थाहा भएन । अब सन्तान बढि हुदाँ परिवार पाल्नै समस्या भयो । त्यसैले श्रीमतीको नसबन्दी गराईदिएको छु ।” उनले भने । आफूसँग कुनै सिप र रोजगारी नभएकाले बाणगंगानदीमा बालुवा चालेर परिवार पाल्ने गरेको उनले अनुभव सुनाए । कपिलवस्तु जिल्लामा पछिल्लो १० बर्षमा नटुवा जातीको संख्या बढेको छ । २०६८ सालको जनगणनामा कपिलवस्तुमा २ सय ९१ जनाको संख्यामा रहेका नटुवा जातीको जनसंख्या २०७८ को जनगणनामा बढेर ४ सय २८ पुगेको छ । जिल्लामा नटुवा समुदायको सबै भन्दा जनसंख्या भएको पालिकामा शुद्धोधन गाउँपालिका र मायादेवी गाउँपालिका हो । शुद्धोधन गाउँपालिकामा नटुवाको संख्या १ सय ९३ जना र मायादेवी गाउँपालिकामा १ सय ३९ जना रहेको पछिल्लो जनगणनाको तथ्याङ्क छ । तर, दुवै पालिकाले नटुवा जातीका लागि बिशेष प्रभावकारी योजना भने अगाडी बढाउन सकेको देखिँदैन ।
नटुवा जातीलाई लोपोन्मुखमा सुचिकृत नगरेर राज्यले अन्याय गरेको नटुवा समुदायका अगुवा अनिल नटुवा बताउछन । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ३ पडरियामा बसोबास रहेका उनले आफूहरूलाई पथ्थरकट्टा जातीलाई जस्तै लोपोन्मुख जातीमा सुचिकृत गर्नु पर्ने भए पनि मधेसी दलितको सुचिमा राखिएकोमा सरकार प्रति गुनासो गरें । “हाम्रो जातीमा अधिकांसको घर छैन । रुखको फेदमुनी पालमा बस्छन । मागेर र ज्याला मजदुरी गरेर परिवार चलाउछन । अन्य लोपोन्मुख जाती भन्दा हाम्रो संख्या कम छ, तर हाम्रो जाती नै सुचिकृत गरिएको छैन,” उनले भने ।
राष्ट्रिय दलित आयोगद्वारा जारी जातीय अनुसूची र राष्ट्रिय जनगणनाको जातीय तथ्याङ्क विवरणमा केन्द्रीय तथ्याङ्क विभागद्वारा यो जातिलाई नटुवा उल्लेख गरिएको छ । नटुवा जाती हिन्दु र मुस्लिम गरि दुई धर्मका भेटिन्छन । बारा, पर्सा, सर्लाही, सप्तरी र सिराहा तिरका नटुवा जाती इस्लाम धर्म मान्छन भने नारायणी पश्चिमका नटुवा प्रायः हिन्दु धर्म मान्ने छन । राष्ट्रिय दलित आयोगले तराई÷मधेशका दलित समुदाय भित्र पर्ने भनी ‘नटुवा’ लाई दलित जातिमा सूचीकृत गरेको छ ।
राष्ट्रिय जनगणना २०७८ मा नटुवा जातीको कुल जनसंख्या २ हजार ८ सय ९६ रहेको छ । २०६८ को जनगणनामा यिनीहरूको संख्या ३ हजार १ सय ८२ थियो । नेपाल सरकारले कुल जनसख्याको ०.५ प्रतिशतभन्दा कम भएको जातिलाई अल्पसख्यक लोपोन्मुख जातिको मान्यता दिँदै २०७४ साल वैशाख ११ गते राजपत्रमा त्यस्ता ९८ जातिको विवरण सूची सार्वजनिक गरेको थियो । त्यस बेला नटुवा भन्दा बढि संख्या भएका पत्थरकट्टा जातीलाई सामाजिक सुरक्षा ऐन २०७५ मा लोपोन्मुख जातिमा सुचिकृत भएका थिए । लोपोन्मुखमा सुचिकृत भए पछि पथ्थरकट्टा जातीले सामाजिक सुरक्षा अन्तर्गत भत्ता बापत अहिले प्रति व्यक्ति मासिक ४ हजार रूपैया पाउदै आएका छन । तर नटुवा जातीले लोपोन्मुख जातिले पाउने सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन ।
२०६८ कै जनगणनामा नटुवाका संख्या ३ हजार १ सय ८२ हुदाँ उनीहरू भन्दा बढि ३ हजार ३ सय ६२ जनसंख्या पथ्थरकट्टा जातीको थियो । तर पथ्थरकट्टा जाती नटुवा जाती भन्दा पहिल्यै लोपोन्मुखमा सुचिकृत भएका थिए । नटुवा भन्दा आर्थिक अवस्था सबल र ठुलो जाती दावी गर्ने पथ्थरकट्टा जाती लोपोन्मुखमा सुचिकृत भए पनि आफुहरूलाई लोपोन्मुखमा सुचिकृत नगरेर बिभेद गरिएको नटुवा समुदायको गुनासो छ । नटुवा समुदायको पहिचान र उनीहरूको सम्मानका लागी लोपोन्मुख जातीमा सुचिकृत गर्नु पर्ने युएसएडको नागरिक समाज र सञ्चार कार्यक्रमकी लुम्बिनी प्रदेश संयोजक लक्ष्मी नेपाली श्रेष्ठ बताउछिन । “नटुवा समुदायले अहिले मागेर खाने पुर्खेउली पेशा प्रति हिनताबोधको अनुभूति गरेको अवस्था छ । त्यसैले राज्यका निती कार्यक्रमले यि समुदायको उत्थानका लागी शिक्षा र स्वरोजगारको कार्यक्रम मार्फत सम्बोधन गर्नु पर्छ ।” उनले भनिन । सो समुदायका लागी शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरका लागी स्थानीय सरकारको ठोस योजनाको आवश्यकता रहने उनको बुझाई छ ।