© २०२३
बुटवल,५ पुस । असरल्ल झुन्डीएका तार । कतिपय समयमा त्यहि तारको कारण दुर्घटनाको जोखिम पनि । टोल नै कुरूप । यो अवस्था देखेपछि बुटवल–८ सुख्खानगरका युवाहरूको मनले भन्यो ‘अब यी तार मिलाउनुपर्छ ।’
वि.सं. २०७९ मा दर्ता भएको लखन ब्रर्दश युवा क्लबका अध्यक्ष सुदिप खत्री र सचिव निरज पन्तको पहलमा अहिले बुटवल सुख्खानगर लगायतका क्षेत्रमा अव्यवस्थित रूपमा असरल्ल झरेका, छरिएका विद्युतीय तार सहित, केवलअपरेटरका तार, विभिन्न ईन्टरनेट सेवा प्रदायक कम्पनीका तार, विद्यूतीय पोलका तार समेत लाई व्यवस्थीत गरी एकमुष्ट रूपमा मिलाउने काम गरेका छन् ।
कोही कतै बाट सहयोग विना नै युवाहरूले आफ्नो पकेट खर्चबाट रकम जम्मा गरेर सिडी किनेर, ब्यान्डीङ्ग तार किनेर टोल–टोलमा तार मिलाउँदै गरेका हुन् । मंगलबार सम्म १० दिन सम्म उनीहरूले बुटवलको सुख्खानगर क्षेत्रको करिब आधा जती स्थानमा मुख्य बाटोमा तार मिलाएर सकेका छन् अझै एक महिना समय लाग्ने क्लबका सचिव निरज पन्त बताउँछन् ।
बुटवल उपमहानरपालिका वडा नम्बर ८ बाट तार व्यवस्थापन गर्नको लागि उनीहरूले स्वीकृती पनि लिएका छन् । तर स्वीकृत प्रदान गर्दै गर्दा वडा कार्यालयले भने कुनै दुर्घटना भएमा कुनै आफू जवाफदेही नहुने भनेर पत्र काटेको छ । सरकारी निकाय बाट गर्नुपर्ने काम युवाहरूले मिलेर गर्दा सरकारी निकायबाट कुनै पनि सहयोग नभएको क्लवका सचिव पन्तको भनाइ रहेको छ । उनी भन्छन्–‘सिडी आफै किन्यौ, ब्यान्डीङ्ग तार पनि किन्यो, अन्य सुरक्षाको सामानपनि आफै किन्यौ, र अहिले व्यवस्थापनमा लागेका छांै ।’
टोल–टोलमा दैनिक २० जना क्लवका युवाहरूको सहभागितामा तार व्यवस्थापन काम गरिएको छ । जसको लागि युवाहरूले आलोपालो गर्दै आएका छन् । वि.सं. २०७९ सालमा दर्ता भएको लखन ब्रदर्श युथ क्लवमा ६० जना भन्दा बढि सदस्य रहेका छन् । ती मध्ये २० जनाले दैनिक रूपमा स्वयंसेविरूपमा तार व्यवस्थापनको काम गर्दै आएका हुन ।
कतिपय टोलमा जाँदा टोल विकास संस्था, मनकारी मन भएका मानिसहरूलाई उनीहरूलाई चिया विस्कुट नास्ता खुवाएर सहयोग गरेका छन्, तर अधिकांस स्थानमा भने युवाहरूले आफै पकेट बाट नास्ता, खाजा खर्च गर्दै आएका हुन । तार व्यवस्थापन भएपछि दुुर्घटना, आगलागी जोखमी समेत न्यूनीकरण हुने, सवारीसाधन आवागमनमा समेत सहजता आउने भएको कारण पनि यो अभियानको सुरुवात गरिएको क्लवका अध्यक्ष सुदीप खत्री बचाउँछन् ।
टोलमा कुनै दुर्घटना, घटना भयो भने झुन्डीका तारकै कारण एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक साधन समेत जान र आउनको लागि अवरोध हुने हँुदै आएको छ । युवाहरूले तार व्यवस्थापन गरेपछि भने यी समस्या नआउने समेत अपेक्षा गरिएको छ ।
क्लवका सदस्य एक जना ईलेक्टीसियन समेत रहेका छन् । उनले यो अभियानमा पूर्णरूपा साथ दिएका छन् । टोल–टोलमा जाँदा लखन ब्रर्दश युथ क्वलले ‘अव्यवस्थित तार व्यवस्थापन कार्य’ भैरहेको बोर्ड राखेर सवारी साधानमा अवरोध नहुने गरी व्यवस्थापनको काम गर्दै आएको छ ।
बुटवल सुख्खानगरको मुख्य सडक मैत्रीपथको दिपबोर्डिङ मावि, एभरेष्ट स्कुल, सुख्खानगर दशरथ पथ लगायतका स्थानमा युवाहरूले तार व्यवस्थापन गरिसकेका छन् ।
यो अभियानकै क्रममा कतिपय केवल अपरेटर सेवा प्रदायक संस्था, विद्युत प्राधिकरण, ईन्टरनेट सेवा प्रदायक संस्था, टेलिकम लगायतका पत्राचार समेत गरिएको छ । जसबाट केही प्रतिनिधि समेत आएर अभियानलाई साथ दिएका छन् । यद्यपी साधान सुविधा भएका यी सेवा प्रदायक संस्थाबाट युवाहरूले पूर्णरूपमा सहयोग समेत पाएका छैनन ।
स्थानीयहरूले भने युवाहरूको अभियान गज्जव भएको भन्दै प्रसंसा गरेका छन् । सरकारी निकाय, सेवा प्रदायक संघ संस्थाबाट हुनुपर्ने काम युवाहरूले गर्नु आफैमा स्वागत योग्य काम भएको सुख्खानगरका प्रविन पौडेल बताउँछन् । उनले युवाहरूको साथमा साथ दिएर सबैले सहयोग गर्न समेत आग्रह गरे ।