© २०२३
बुटवल १५ मंसिर । रूपन्देहीको ओमसतियाकी ५० वर्षकी सोमकली थारु (नाम परिवर्तन) को अहिले सम्म नागरिकता बन्न सकेको छैन । उनले जन्माएका छोराहरू विदेश गईसके तर उनको नागरिकता बन्न सकेको छैन । एचआईभी संक्रमित थारुलाई नगारिकता नहुँदा औषधी उपचारमा समस्या सृजना भएको छ । उनी भन्छिन् अहिले जसोतसो औषधी खान पाए पनि सरकारले दिने स्वास्थ्य बीमा हुन सकेको छैन । यसले पनि समस्या पारेको छ ।
पहिलो श्रीमानको मृत्युपछि दोस्रो विहे गरेकी थारुलाई पहिलो श्रीमानको घर परिवारको दबाबले गर्दा नागरिकता बनाउन समस्या परेको बताउँछिन् । नागरिकता नबन्दा उनको स्वास्थ्य उपचारमा समस्या भएको छ । नत उनी आफूलाई एचआएभी संक्रमित हुँ भनेर समाजमा खुल्न सक्छिन नत नागरिकता बनाएर स्वास्थ्यको सेवा पाउन सकेकी छन् । त्यसैगरी २० वर्ष देखि रूपन्देहीको ठुटीपिपललमा बस्दै आएका शिव चौधरी (नाम परिवर्तन) को पनि समस्या यस्तै छ । उनी पनि एचआइभी संक्रमित हुन् नागरिकता छैन त्यसैले उपचारमा समस्या भएको छ ।
सरकारले दिने औषधी सहितको अरू सुविधाबाट बञ्चित छन् । उमेरले ५० वर्ष काटिसकेका थारुको यो क्षेत्रमा आफन्त पनि कोहि छैन । उनी भन्छन् आफन्तहरू सबै भारततिर छन् । नागरिता बनाउन समस्या भएको हो ।
गणेश भट्टराई (नाम परिवर्तन) ले सरकारले जोखिममा परेका युवहरूको लागि छुट्टै योजना ल्याउनु पर्नेमा जोड दिए । उनले शिक्षा युवाको आवश्यकता भए पनि जोखिममा परेका धेरै युवाहरू आर्थिक अभावका कारण समस्याका भोग्नु परेको बताए । उनले सरकारी अस्पतालमा पनि संक्रमित ब्यक्तिले अपमानित हुनु परेको भन्दै त्यसका लागि सचेतना जरुरी रहेको बताए । अस्पतालमा गएर संक्रमित हु भन्ने थाहा पाए पछि निजि अस्पतालमा रिर्फर गर्ने गर्दछन् । संक्रमित ब्यक्ति गरिव त्यस माथि निजि अस्पतालको शुल्क महङ्गो यस्तै धेरै सामाजिक विभेदका कारण धेरै संक्रमितहरू मानसिक रोगको सिकार हुन पुगेको बताए ।
जिवन गुरुङ्ग (नाम परिवर्तन) ले एचआईभी संक्रमितहरू धेरै टाढाबाट औषधी उपचारका लागि आउनु पर्ने भएकाले उनीहरूलाई थप सहयोगका लागि यातायातको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले धेरै जसो संक्रमितहरू गरिव परिवारका हुने भएकाले उनीहरूलाई सहज रूपमा अस्पताल आउन र उपचारमा सहयोगका लागि भत्ता हुनुपर्नेमा जोड दिए । उनले केहि संघ संस्थाले उपचारमा आउँदा केही रकम दिए पनि त्यो दिर्घकालिन नहुनी भएकाले सरकारले यस तर्फ सोच्नु जरुरी रहेको बताए ।
एचआइभी संक्रमितहरूको राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश संयोजक अजुन ज्ञवालीले भैरहवामा १६ जना संक्रमित बालबालिका पोषण प्रदान गर्ने, कञ्चन गाँउपालिका र देवदह नगरपालिकामा अन्तरक्रिया लगायतका कार्यक्रम गरेर दिवस मनाउने कार्यक्रम रहेको जानकारी दिए । कार्यक्रममा बोल्दै फिल्ड कर्मचारी रामरतन मालीले समाजमा एचआइभी संक्रमितलाई हेर्ने नजर अझै पनि सकारात्म हुन नसकेको बताए । उनले विद्यालयमा पनि संक्रमित बालबालिकालाई दुव्यवहार गर्ने साना बच्चाको जन्मदर्ता र युवाको नागरिता बनाउन समेत समस्या हुने गरेको बताए । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका एचआइभी फोकलब्यक्ति भीमप्रसाद ज्ञवालीले संकमित ब्यक्तिहरूलाई समुदायमा स्थापित गर्न सबैको पहल जरुरी रहेको बताए ।