Butwal Today

सडक संजाल नपुग्दा समस्यामा सिमलताराबासी

३ मंसिर २०८०, आइतबार
अ+
अ-

दाङ, ३ मंसिर । संघीयता कार्यान्वयनमा आएपछि तीन तहका सरकारले जनताको पक्षमा धेरै काम गर्ने परिकल्पना गरिएको थियो । घोराहीका तर दूरदराजका नागरिकका लागि ती बजेट अझै पनि अनुभूति हुने गरी कार्यान्वयनमा आउन नसकेको गुनासो नागरिक स्वयं बताउँछन् । जनताका लागि भनेरै वर्षेनी बजेट पनि विनियोजन हुने गरेको छ तर घोराही उपहानगरपालिका वडा नम्बर ३ र ५ को दुर्गम बस्ती साजखुटी, सिमलतारा र बसेरी खोलाबस्तीका बासिन्दाले बिकासको मुख देख्न पाएका छैनन् ।

राजनीतिक हिसाबले मुलुकमा ठूलो परिवर्तन आइसके पनि ग्रामीण क्षेत्रमा परिवर्तनको अझै आभाष हुनसकेको छैन । सर्वसाधारणले बर्षौदेखि जुन सास्ती खेप्नु परेको थियो त्यो जस्ताको तस्तै छ । बाटो घाटो, पुल पुलेसा, शिक्षा, स्वास्थ्य, संचारलगायत मानवीय र सामाजिक विकासमा अझै धेरै काम गर्न बाँकी देखिन्छ । गाउँदेखि सदरमुकाम जान वा अरू कुनै कामका लागि निस्कनु प¥यो भने फुर्सदका साथ निस्कनु पर्ने बाध्यता दूरदराजका नागरिकलाई हुने गरेको छ ।

पिठ्युमा गहु्रंगो भारी बोकेर मसोट खोला वारपार गर्नुपर्ने बाध्यता रहेको छ । वर्खातमा आएको बाढीले गोरेटो बाटो बिगारेपछि अझै खोला तर्न सहज छैन । घोराही उपमहानगरपालिका वडा नम्बर ३ साजखुटीकी देवाकुमारी बुढालाई घरका लागि चाहिने सामल बिसाउन बजार पुग्नुपर्छ । यसका लागि या त लमही या त घोराही जानुको विकल्प छैन । हिउँदमा खोला सुकेर आऊजाऊ गर्न केही सहज भएपनि बर्खा लाग्यो भने अर्जुन खोला उर्लेर आउँछ । यो बेलामा विद्यार्थी स्कुल जान पाउँदैनन् । कोही बिरामी भयो भने घरमै बस्नुपर्ने अवस्था आई लाग्छ, खानेकुरा जसो तसो जोहो गरेर चलाउनुपर्छ । आफुहरू वर्षौदेखि अनेकन समस्याले जेलिएर बाँच्नु परेको दुखेसो पोखिन् ।

स्थानीय सरकारले कुनै प्रकारको सेवा नदिएको उनी गुनासो गर्छिन् । ‘हाम्रो त जिन्दगी यसै गरी दुखकष्ट गरेर बित्न लाग्यो । सरकारले केही गरिदिए नानातिनाहरूलाई बस्न सजिलो हुन्थ्यो भनेको हो तर खै कहिले होला र ?’ उनले भनिन् ‘हिउँदमा जसो तसो काम चल्छ तर बर्खा लाग्यो भने साह्रै बिजोग हुन्छ । दुख बिराम पर्दा के गर्ने भन्ने हुन्छ । न बाटो, न बिजुली बत्ती न संचार सबै कुराबाट वन्चित भएर बस्नु परेको छ ।’ घोराही उपमहानगरपालिका –५ बसेरी खोलाकी बेलमति पुन पनि आफुहरू उपमहानगरबासी भएपनि कुनै दुर्गमको नागरिक सरह बाच्नु परेको दुखेसो सुनाउँछिन् ।

स्थानीय उत्पादनले बाह्रै महिना नथेग्ने हुँदा गाउँदेखि टाढा रहेको घोराही या लमही बजार जानुपर्ने बाध्यता उनलाई पनि छ । बिहानै झिस्मिसेमै बजारका लागि निस्केपछि साँझ अबेर घर फर्किनु पर्ने अवस्थाबाट बसेरी खोला बासी बस्नु परेको उनी बताउछिन् । यो ठाउँमा अहिले बिजुली पुगेको छ । तर, बाटो, सडक, सिंचाई, संचार सुविधा पुगेको छैन । ‘रासनपानी लिन घोराही या लमही पुग्नुपर्ने हामीहरूको बाध्यता हो, यहाँ गाईबस्तु, कुखुरा, बाख्रा पाल्नका लागि राम्रो ठाउँ छ भने बाउबाजेको पालादेखि बसियो अहिले सबै तिर सेवा सुविधा पुगेको देख्दा हामीले पनि सेवा सुविधा लिन पाए हुन्थ्यो भन्ने लाग्छ तर पूरा हुन सकेको छैन’, बेलमतिले भनिन्, ‘सबै कुराले हामी ठगिएका छौँ, भोट चल्छ तर हाम्रा लागि नेताका कुनै कुरा र काम चलेको छैन ।’

गाउँमा संचार पुगेको छैन । कुनै समस्या पर्यो भने आफन्तसँग कुराकानी गर्न नजिकैको पहाड उक्लिनुपर्छ । गाउँको परिवेश निकै मनमोहक छ, यसो हेर्दा लाग्छ यो ठाउँमा सबै कुराको सेवा सुविधा पुगेको छ । तर, अवस्था बुझ्ने हो भने ती सबै कुरा पुग्न नसकेको देखिन्छ । वर्षै अघिदेखि बस्ती बसेको यो ठाउँ लमही घोराही सडक खण्डको मसोट खोलाबाट पश्चिम तर्फ दुइ घण्टाको पैदल यात्रापछि पुग्न सकिन्छ । जंगल नजिकैको बस्ती भएकाले जंगली जनावरको पनि उत्तिकै डर रहेको उनी बताउछिन् । जंगलको बीचमा रहेको बस्ती आफैमा हरेक रूपमा जोखिममा छ । अझ सुख्खा याममा वनमा लागेको डढेलो बस्तीमा पस्दा खरले छाएको छानो जोगाउनै कठिन हुने गरेको घोराही– ३ सिमलताराकी सीता बुढा बताउछिन् । सडक नहुँदा स्थानीयस्तरमा मौसमअनुसार उत्पादन भएका अमिलो, खुर्सानीे, बेसार, खसी बाख्रा, कुखुरा, तोरी, मकै र आलुले बजार पाउन सकेको छैन । तोरी, मकै, आलु कृषि उपज यही ठाउँमा राम्रो फल्छ, उब्जेको सबैआएर सकिँदैन, यसलाई लगेर बजारमा बेचौँ भनेपनि बाटोघाटोको समस्या छ, त्यसैले बजारसम्म लैजान दुःख छ’, उनले भनिन्, ‘कुखुरा, खसीबाख्रा पालेर आम्दानी गर्न सकिन्छ तर जंगली जनावरको पनि उत्तिकै डर छ । बेला बेलामा जंगली जनावरमा खसीबाख्रा, कुखुरा खाईदिएर हैरान बनाएको छ ।’राज्यले वास्ता नगर्दा दुर्गमका सर्वसाधारण समस्यै समस्यामा छन् ।

राज्यले गरिबी निवारणको कुरा गरे पनि ठोस योजना ल्याउन नसक्दा समस्या भएको स्थानीय बताउँछन् । वर्षौदेखि कुनै सरकारी निकायका मानिस पनि गाउँमा पुग्न नसक्दा अहिले पनि ढुंगेयुगको जीवन बाँच्नु परिरहेको स्थानीयबासीको दुखेसो छ । बसेरी खोला, सिमलतारा, साजकुटीलगायत गाउँमा एक सय पचास बढी घरपरिवार बस्दै आएका छन् । अर्जुन खोलाको किनारमा रहेको फाँटलाई खारेर पुस्तौदेखि बस्दै आएका स्थानीयबासीले नजिकैको जंगलमा गाईबस्तु चराउने र त्यसबाट उत्पादन लिने गरेका छन भने बारीमा अन्नबाली फलाउने गरेका छन् । यसबाहेक अरू काम यहाँका नागरिकले गरेका छैनन् ।