© २०२३
पाल्पा, २७ असोज । तिनाउ गाउँपालिका–३ दोभानस्थित ढापका सथानीहरूले आफुुहरूलाई थाहा नै नदिइए चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले क्रसर चलाउन लागेको बताएका छन् । सिद्धबाबा सुरुङ्गमार्ग परियोजना अन्तर्गतको यो कम्पनीले सामन्य मापदण्ड पनि पालना नगरी आफुुहरूको सहमति बेगर क्रसर र रेडिमिक्स प्लान्ट सञ्चालनमा ल्याउन लागेको बताएका हुन् ।
कुनै पनि उद्योग सञ्चालन गर्दा प्रभावित क्षेत्रका नागरिकहरूसँग राय, सुझाव र छलफल गर्नु पर्ने भए पनि उसले त्यो पनि गरेको छैन् । कम्पनीले स्थानीय र सधिंयारसँग समेत कुनै पनि छलफल गरेको छैन् । उद्योगले एक्लौटी रूपमा हेभी रेडिमिक्स प्लान्ट र ठूलो मेसिनसहितको क्रसर प्लान्ट सञ्चालन गर्न लागेपछि स्थानीयले आपत्ति जनाएका छन् । उनीहरूले आफुुहरूसँग सामान्य पनि छलफल नगरी दादागिरी शैलीमा उद्योग सञ्चालन गर्न लागेको स्थानीय विष्णुप्रसाद पाण्डेले बताए ।
उनले भने ‘उद्योगले सामान्य मापदण्ड पनि परिपालना गरेको छैन, उसले न आइईई गरेको छ नत दुरीको मापदण्ड नै । स्थानीयसँग समेत उसले छलफल र परामर्श पनि गरेको छैन् ।’ अवैध उद्योगका कारण आफुहरू पलायन नै हुने अवस्था सिर्जना हुन सक्ने भन्दै स्थानीयले गत भदौ २२ गते क्रसर उद्योग निमार्ण कार्य रोक्नका लागि तिनाउ गाउँपालिका र उद्योग कम्पनीलाई पत्र समेत पठाएका थिए । उद्योगले भने उनीहरूको आग्रहलाई वेवास्ता गर्दै प्लान्ट सञ्चालनको तयारी अगाडि बढाएको छ ।
प्लान्ट सञ्चालनका लागि आवश्यक न्यूनतम मापदण्ड समेत पालना नगरी कम्पनीले प्लान्ट सञ्चालन गर्न लागेका हो । उसले प्लान्ट सञ्चालनका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइईई), वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गरेको छैन भने दुरी सम्बन्धी मापदण्डको समेत पालना गरेको देखिदैन । सिद्धार्थ राजमार्गदेखि ५० मिटर दुरीमा प्लान्ट सञ्चालनमा छ । त्यति मात्र होइन, तिनाउ खोला र पक्की पुलदेखि एक सय मिटरको दुरीमा प्लान्ट रहेको छ । जहाँ प्लान्ट सञ्चालनका लागि राजमार्ग, खोला वा नदि किनार र पक्की पुलबाट ५०० मिटरको दुरीको मापदण्ड हुनुपर्दछ ।
गाउँपालिकाले पटक– पटक कागज पत्र जुटाउन आग्रह गरे पनि कम्पनीले त्यसको वेवास्ता गरेको पालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए । उनले भने ‘स्थानीयहरूबाट निवेदन आईसकेपछि कम्पनीलाई प्रमाणहरू जुटाउन आग्रह गरे पनि भौतिक पूर्वधार मन्त्रालयको स्वीकृत पत्र बाहेक अन्य प्रमाण जुटाउन सकेको छैन् ।’ सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयकी इन्जिनियर सविता ज्ञवालीले भने आफुहरूले आइईई स्वीकृत गरेरै काम अगाडि बढाएको दावी गरिन् । उनले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको सुरुङमार्ग कै क्रसर प्लान्ट भएकाले व्यवसायिक क्रसर उद्योगले जस्तो आइईई र मापदण्डको पालना गर्न नपर्ने सम्झौतामै रहेको भन्दै कम्पनीको बचाउ गरिन् ।