© २०२३
रुपन्देहीको सैनामैना नगरपालिकाले सामुदायिक विद्यालयका १६० जना शिक्षकलाई ल्यापटप वितरण गरेको छ । नगर भित्र रहेका १७ वटै सामुदायिक विद्यालयका शिक्षकहरुलाई एक÷एक थान ल्यापटप वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
सैनामैना नगरपालिकाको ७५ प्रतिशत र शिक्षकहरुको २५ प्रतिशत लागत सहभागितामा ल्यापटप वितरण गरिएको हो ।
सैनामैनाको शैक्षिक गुणस्तर सुधारका लागि चालु आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रममा नगर प्रमुख चित्र बहादुर कार्कीले सामुदायिक विद्यालयमा ‘एक शिक्षक एक ल्यापटप’ वितरण गरिने घोषणा गरेका थिए । सोही प्रतिवद्धता अनुसार शिक्षकलाई ल्यापटप उपलब्ध गराइएको सैनामैना नगर प्रमुख कार्कीले बताए ।
उनले आफुहरु निर्वाचित भैसकेपछि विद्यालयहरुमा कम्प्युटर, प्रोजेक्टर, ल्यावका समाग्री वितरण गरेको र विद्यालयको भौतिक निर्माणमा बिशेष ध्यान दिएको बताए ।
अभिभावकले आफ्ना बालबालिकाहरुलाई समुदायिक विद्यालयमा अहिले अध्ययन गराउने वातावरण बनेको छ उनले भने, अब सैनामैनाको शिक्षा एक नम्बरको हामी बनाउँने छौं ।’
नगरको शैक्षिक विकासमा नगरपालिकाले अवाश्यक सहयोग गर्ने सैनामैना नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद तिवारीले बताए । वितरण गरिएको ल्यापटपको उचित प्रयोग गर्न उनले आग्रह समेत गरे ।
सैनामैना नगरपालिकाको ७५ प्रतिशत र शिक्षकहरुको २५ प्रतिशत लागत सहभागितामा एक करोड २० लाख ९५ हजार ५ सय २० रुपियाँमा १६० थान ल्याप्टप वितरण गरिएको शिक्षा शाखा प्रमुख हेमराज अर्यालले जानकारी दिए ।
पर्रोहा मा.वि.का १५ जना, रामापुर मा.वि. १५, पशुपति मा.वि. १५, सैनामैना मा.वि. २१, दुर्गा भवानी मा.वि. ८, जनकल्याण मा.वि. १२, कोटीयादेवि मा.वि. १०, मलमला मा.वि. ८, सरस्वती मा.वि. ९, साल्झण्डी मा.वि. ११, पश्चिम पर्रोहा मा.वि.का ४ जनालाई ल्यापटप वितरण गरिएको छ ।
त्यस्तै, जनज्योति आधारभुत विधालय परसावलका ४, महेरवा आधारभुत विद्यालय २, जनचेतना मा.वि. ८, राष्ट्रिय मा.वि. ९,जनज्योति आधारभुत विधालय साल्झिण्डी ६, कालिका आधारमूत विद्यालयका ३ जना शिक्षकलाई ल्याप्टप वितरण गरिएको छ ।
नगरपालिकाले शिक्षण सिकाइ प्रभावकारी बनाउनका लागि यस अघि शिक्षकहरुलाई आईसिटि तालिम दिई सकेको छ ।