© २०२३
बुटवल,५ साउन । बुटवल उपमहानगरपालिकाले कालिका पथ र मुख्य सडक जोड्ने ठाउंकमा सडक अतिक्रमण गरी बनेका संरचनामा डोजर चलाएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल र कालिका मन्दिरको बीचमा रहेको पर्खाल भत्काएर बुटवल उपमहानगरपालिकाले दुई सडक जोड्ने निकास निकालेको हो।
यो सडक सञ्चालनमा आएपछि बुटवलको नेपालगञ्ज रोडबाट कालिकापथ जाने आउने निकास सहज हुने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।
४१ फुटको सडक बनाउने गरी सो क्षेत्रमा रहेका संरचना भत्काइएको र यसले कालिकापथ जान आउन सहज हुने र मुख्य सडकको चाप कम गर्न मद्दत गर्ने बताए।
अस्पताल र कालिकामन्दिरको क्षेत्रमा आवश्यक पर्खाल बुटवल उपमहानगरपालिकाले लगाउने र सडक पक्की गर्ने तयारी अगाडि बढाएको उनले बताए । अब कालिकापथ र नेपालगञ्ज रोड जोडिएपछि सवारी चाप पनि कम हुनेछ। सो क्षेत्रमा डोजर लगाएर बुटवल उपमहानगरपालिकाले सडक सञ्चालनमा ल्याउने भएपछि स्थानीयले खुशी प्रकट गरेका छन्।
नेकपा एमाले क्षेत्र नम्बर २ रूपन्देहीका संयोजक बाबुराम पन्थीले हाम्रो पहल र जोडदार मागले बाटो खोलिएको बताए । ‘यो कालिकापथको बाटोलाई निकास नभएर समस्या थियो’ पन्थीले भने, ‘हाम्रो पहललाई मानेर नगरले आज निकास खोलेको हो । यसले अब कालिकापथलाई थप गुल्जार र चलाएमान गराउँछ ।’ कालिकापथ सडक निर्माणका लागि नेता पन्थीले व्यापक रुपमा पहलकदमी लिएपछि सडक मिचेर बनेका घरहरु भत्काइएका थिए ।