© २०२३
कफीको व्यावसायिकता बढाउने उद्देश्यले मुसिकोट नगरपालिकाले ‘कफी रोपौ आम्दानी बढाउँ’ अभियान सुरु गरेको छ । सय बोट कफी रोपे १० हजार अनुदान पाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले जानकारी दिए । अनुदानसहित कफी किसानलाई सहुलियत कर्जाको व्यावस्था पनि नगरपालिकाले गरेको छ । अनुदान र कर्जाका कारण किसानमा कफी खेतीप्रतिको आकर्षण बढिरहेको भुसालले बताए ।
जिल्लाकै पहिचान कफीसँग जोडिएकाले कफिको संरक्षण र विकासमा मुसिकोट नगरपालिकाले जोड दिएको छ । मेयर सोमनाथ सापकोटका अनुसार कफीको उद्गमस्थल पनि भएकाले नगरलाई कफी हबको रूपमा स्थापित गर्न नगरपालिकामा विभिन्न काम भइरहेका छन् । स्थानीय तहपछि वार्षिक रूपमा ५० हजारका दरले कफीका बिरुवा रोप्ने काम भइरहेको छ । नगरसहित साझेदार संस्थाहरू कफी विकास केन्द्र, कफी सुपर जोन र कृषि ज्ञान केन्द्रहरूमार्फत नगरभित्र कफी बिरुवा रोग्ने गरिएको सापकोटाले बताए । ‘पहाडी जिल्लाको समृद्धिको आधार कृषि पर्यटन हो । स्थानीय तहपछि अनुदान र सहुलियत कर्जाले किसानमा नयाँ ऊर्जा जगाएका छौ,’ उनले भने, ‘मुसिकोटलाई कफीको हब बनाउँछौ ।’
मुसिकोट नगरपालिका–५ आँपचौरसहित नगरका सवै वडामा कफी बिस्तारको काम भइरहेको छ । वडा नम्बर १ र ३ मा विभिन्न युवा तथा कृषि समूहले करिब २५ हजार कफीका बिरुवा रोपेका छन् । वडा कार्यालयको तर्फबाट १२ सय बोट कफीका बिरुवासहितको बगैचा निर्माण गरिएको छ ।
पछिल्लो समय युवाहरूमा समेत कफि खेतीको मोह पलाएको छ । मुसिकोट बाहिरका युवाहरूसमेत आँपचौरमा पुगेर कफीको व्यावसाियक खेती गर्न थालेका छन् । रेसुंगा नगरपालिका–९ का युवा सरोज बेलवासेसहितका तीनजना युवाहरूले वडा कार्यालयको कफी बचैचासहित करिब दुई सय रोपनी जग्गामा कफी खेती बिस्तार गर्न थालेका छन् । भ्रमणको क्रममा आँपचौर बाहिरबाट कफिमा चर्चा गरिए जस्तो नभएपछि पहिचान कायम राख्नकै लागि व्यावसाियक कफी खेतीमा लागेको बेलवासेले बताए ।कफीको विकास र विस्तारका लागि कफी विकास केन्द्रले लामो समयदेखि कफी बगैंचा तथा नर्सरी व्यवस्थापनलगायतका काम गरिरहेको मुसिकोट नगरपालिका वडा नं ५ का वडाध्यक्ष भागिरथ खरेलले बताए । गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारमा नेपालमै पहिलो कफी अनुसन्धान कार्यक्रम ०७१ सालबाट सञ्चालन गरिएको छ । कार्यक्रमले हालसम्म ३९ प्रकारका कफी संकलन गरेर जिल्लामा कफी खेतीको अनुसन्धानको काम गर्दै आएको छ ।
गुल्मी कफीको उद्गम स्थल हो । गुल्मीसँग करिब ८० वर्ष पहिलेको इतिहास छ । जहाँ नेपालमै पहिलोपटक तत्कालीन आँपचौर गाविसका स्थानीय हिरा गिरीले म्यानमारबाट ल्याएर कफीको बिरुवा रोपे । आँपचौरका कफी बगैचा तत्कालीन राजा वीरेन्द्रले समेत अवलोकन गरेका थिए । गुल्मीकै कारण नेपालभर कफीको व्यावसायिक खेती विस्तार सुरु भयो । गुल्मीमा कफीको विकास र विस्तारका लागि ०४१ सालमा स्थापना भएको कफी विकास केन्द्र स्थापना भएको छ ।
पछिल्लो समय कफीमा सेतो गवारो र सिंधुरे रोगको प्रकोप देखियो । जिल्लामा व्यावसायिक कफी किसान डुब्न थाले । कफीको उद्गम जिल्लामै कफीको उत्पादन ह्वात्तै घट्यो । किसानले कफीका बोटहरु काटेर अरु खेती गर्न थाले । तर, स्थानीय तहपछि मुसिकोट नगरपालिकाले कफीको क्षेत्रमा थुप्रै काम गरेको छ । जसका कारण किसानहरू उत्साहित भएका छन् ।