© २०२३
बुटवल,३० असार । बुटवल चिडिया खोला नजिक रहेको तल्लो सिद्धबाबा मन्दिरमा भक्तजनले चढाउने दान रकममा ठगी धन्दा भएको पाइएको छ । मन्दिरमा विवाह गरे वापत सेवाग्राहीले बुझाएको रसिदको अर्धकट्टीमा आधा रकम घटाएर मात्र मन्दिरमा दाखिला हुने गरेको प्रमाण सार्वजनिक भएको हो ।
२०७९ साल असार २२ गते मन्दिरमा सीता पुन र मिलन सारुको विवाह गराएवापत कुमार कार्कीले मन्दिर व्यवस्थापन समितिलाइृ एकहजार ५ रुपैयां तिरेका थिए । तर सोही रसिदको डुप्लिकेट कपीमा ५०५ रुपैयां बुझेको लेखेर आधा रकम ठगी गरेको पाइएको हो ।
यस्तै तिलकुमारी खड्काले २०७९ मंसिर २६ गते र गंगा रायमाझीले २०७९ मंसिर २८ गते आफन्तको विवाह गराए वापत शुल्क एक हजार ५ रुपैयांका दरले मन्दिर व्यवस्थापन समितिलाई बुझाए पनि दुबैको डुप्लिकेट कपीमा ५०५ रुपैयां मात्रै बुझेको देखाइएको प्रमाण बाहिर आएको छ । नेकपा एकीकृत समाजवादीका युवा नेता शंकर घर्तीले एउटै व्यक्तिले बुझाएको रकमका फरक फरक रसिद सावृजनिक गरेका हुन् । उक्त मन्दिरको व्यवस्थापन समितिको म्याद सकिए पनि नयाँ ब्यवस्थापन समिति बन्न सकेको छैन ।
मन्दिरमा लामो समयदेखि अध्यक्ष रहेका कृष्ण प्रसाद तिमिल्सेनाकै मिलोमतोमा वर्षौदेखि आम्दानी रकममा हिनामिना हुने गरेको आरोप छ । यस सम्बन्धमा प्रतिक्रियाका लागि फोन गर्दा अध्यक्ष तिमिल्सेनाले पत्रकार सम्मेलन गरेर सबै कुरा सार्वजनिक गर्ने बताए । गत मंसिरमा म्याद सकिएको ब्यवस्थापन समितिको निर्वाचनका लागि सहमती कायम जुट्न नसकेपछि तिमिल्सेनाकै समितिलाई काम चलाउ कार्यसंचालनको जिम्मेवारी दिईएको छ ।