पाल्पा, २४ असार ।
तानसेन–९ का दुर्गा प्रसाद भट्टराई उमेरका हिसाबले ८ दशक पूरा गरे । आफु तन्नेरी हुँदा हातमा घडी थिएन । खरको छानामा गुँड बनाएर बसेका भँगेराले बिहानपख चिरबिर गर्न लागेपछि उज्यालो भएको संकेत पाएर आफू उठ्ने गरेको उनी बताउँछन् ।
खरको छानादेखि घरको खटप्वालमा ठूलो संख्यामा गुँड बनाएर बिहानको मिर्मिरे उज्यालो हनु अगावै चिरबिर गर्ने भँगेरा पछिल्लो समय हराउँदै गएकोमा उनलाई पुरानो कुरा यतिबेला सपना जस्तै लागेको छ ।
भाँडा माझ्ने ठाउँमा भातका सिता खाने होस् या धान कुट्ने ढिकीमा अन्नका स–साना कण टिप्न आउने सयौं संख्याका भँगेरा पछिल्लो समयमा हराउन पुगेको पुराना पुस्ताका बेनीराम ढकाल बताउँछन् । “ठूलो संख्यामा पाइने सानो पंक्षीले मानवलाई कहिल्यै हानी नोक्सानी गरेन र गर्दैन पनि तर केही वर्षयता यसको वंश नै नाश भए जस्तो भयो”–उनले भने ।
देवीनगरका पुराना पुस्ताका हुमबहादुर दर्लामी भने परेवालाई किसानको साथी नै ठान्दछन् । “परेवाले खेतबारी, घर वरिपरिका हानीकारक किरा खाने गर्दछ । जसले गर्दा अप्रत्यक्ष रुपमा बाली उत्पादनमा सहयोग गर्दछ । तर पछिल्लो समयमा हराउँदै गयो”–उनले चिन्तित हुँदै भने ।
भँगेरा सामान्य चरा मात्र होइन सूचनाको संवाहक पनि हो । जसले सन्देश पनि दिने गर्दछ । त्यसैगरी बिहानै कराउँदा त एक प्रकारको आनन्द पनि आउने गर्दछ । यो त मानव सभ्यताको बिकास क्रमसँगै यसको पनि विकास भएको हुनु पर्दछ । यसलाई अहिलेको पुस्ताले चिन्न नसक्दा समयको विकाससँगै हराउँदै गएको दर्लामीको बुझाई रहेको छ ।
माथगढीको देवगिरका पुराना पुस्ताका सन्तबहादुर विश्वकर्मा आफु तन्नेरी अवस्थामा हुँदा धेरै प्रजातीका भँगेरा देखेको र जानेको बताउँछन् । यो सानो चराले घरका छाना, खटप्वालमा मात्र बासस्थान बनाउने होइन, रुखका प्वालमा समेत बासस्थान बनाउने गर्थे । “जब खेतमा धान काटेर पाजा लगाइन्थ्यो । धान काटेको ठाउँमा किरा खोज्न आउने ठुलो बथान नै हुन्थ्यो । त्यस्तो दृश्य बेलुकापख हेर्दा र देख्दा बेग्लै आनन्द आउँथ्यो”–उनले भने ।
हेर्दा र देख्दा स–सानो अनि अत्यन्त मेहनती र मायालु पंक्षी हो भँगेरा । यसको आयु भनेको तीन देखि पाँच वर्ष हो । यसको पखेटाको फैलावट २० सेन्टिमिटर सम्म हुन्छ । लम्बाई १२ देखि १८ सेन्टिमिटर हुन्छ । यसको तौल अत्यन्त कम हन्छ । केही समय अगाडि मानव बस्तीको वरपर टन्न देखिन्थ्यो । तर पछिल्लो समयमा यसको संख्या घट्दै गएको जानकारहरु बताउँछन् ।
पंक्षी संरक्षण परियोजनाका अधिकृत भुपाल नेपाली भन्छन्–“बढ्दो आधुनिकताको कारण बासस्थानको समस्या भयो, त्यसैगरी वातावरण प्रदुषण पनि मुख्य समस्या हो, जसले गर्दा यसको जीवनचक्र नै संकटमा परेको छ । यसको सह अस्तित्व स्वीकार गरेर जोगाउनु पर्ने अबको आवश्यकता हो ।”
नेपालमा ८ सय ९० प्रजातीका चराहरु पाइन्छ । त्यस मध्ये एक प्रजातिको यो चरा हो । नेपालमा घर, रुख, कैलो, पितकाँडे, स्पेनिस जस्ता प्रजातिको भँगेरा पाइने गर्दथे । बासस्थानको समस्यासंगै अन्य समस्याका कारण यस्ता पंक्षीहरु हराउन पुगे । यसको संरक्षणका लागि जनचेतना बढाउनुपर्ने जानकारहरु बताउँछन् ।
खेतबारीमा अन्न, फलफुल, तरकारी बालीमा रोग तथा किरा लाग्यो भन्दैमा जथाभावी विषादीको प्रयोगको कारणले पनि समस्या पारेको बताउँदै पुर्वखोलाको पुरानो पुस्ताकी दिलमाया भन्छिन्–“कुनै समयमा तराइ मूलका मानिसहरु जाल लिएर आएर जालमा पारेर ठुलो संख्यामा पनि लगे, त्यसैगरी नयाँ पुस्ताले शिकार गर्ने प्रचलनका कारणले पनि हरायो । आंगनभरी बिस्कुन सुकाउँदा बिस्कुन खान आउने भँगेरा देख्दा बेग्लै रमाइलो हुन्थ्यो, तर त्यस्ता दिन अब एकादेशको कथा जस्तै भएको छ ।”
परियोजनाका अधिकृत नेपाली भने भँगेरा हराउनुको मुख्य कारण पुराना शैलीका घरहरु नहुनु, रुख बिरुवा बिनास हुँदै जानु, विषादीका कारण, वातावरण प्रदुषित हुँदै जाँदा, आहाराको र बासस्थानको समस्या रहेको बताउँछन् । पछिल्लो समयमा मोवाइल, टेलीफोनका टावर, बस्ती बस्तीमा निर्माण भएका छन् । टावरको ¥याडिसनले गर्दा भँगेराको प्रजनन शक्तिमा नराम्रोसंग असर गर्दा हराउन पुगेको उनी बताउँछन् ।
बच्चा १५ दिनको भएपछि आहाराको रुपमा किरा खाने गर्दछ । त्यस मध्ये धेरै किराहरु वालीलाई नोक्सान गर्ने खालका हुन्छन् । यस्ता बहुउपयोगी पंक्षीका लागि अनुकुलका घरहरु नै छैनन् । सु्रक्षित बासस्थान समस्याका कारणले पनि जीवनचक्र नै संकटमा परेको हो । सरकारले मार्च २० (चैत ७ ) लाई विश्व भँगेरा संरक्षण दिवसका रुपमा मनाउने गर्दछ । सरकारले मनाउन लागेको १० वर्ष पूरा भयो तर यसको संरक्षणको लागि वहस, छलफल भए पनि औपचारिकतामा मात्र सीमित हुन पुगेको छ । यसको बासस्थान संरक्षणदेखि आहारा सम्मका विषयमा छलफल हुँदैन । जबसम्म यस्ता विषयमा वहस हुँदैन, तबसम्म यस्ता दिवशले सार्थकता पाउन नसक्ने सरोकारवालाहरुको भनाई छ ।