© २०२३
मुलुकमा केही भएन भन्ने सर्वत्र निरासाका बीचमा नेपाली चलचित्र क्षेत्रले थोरै भएपनि आशाको सञ्चार गर्न सफल भएको छ । पछिल्लोसमय नेपालमा गुणस्तरीय चलचित्र बन्न थालेका छन् । दर्शकले रुचाउने, दर्शकको मन छुने चलचित्रको निर्माणले थोरै भएपनि चलचित्र उद्योगले खुसी दिएको छ । ‘पूर्णबहादुरको सारङ्गी’ ले नेपालको चलचित्र इतिहासमा अहिलेसम्म सवैभन्दा धेरै कमाउने श्रेणीमा नाम राख्न सफल भएको छ । नेपाली ग्रामीण परिवेशमा अभिभावकको दुःख, परिश्रम र पीडा बटुलेर पर्दामा उतारेको यो चलचित्रले नेपाली समाजको यथार्थ बिषयवस्तुलाई कथामा पस्कन सफल भएको छ । बक्स अफिसका अनुसार नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले करिव ४० करोडको व्यापार गरेको छ । त्यसअघि बनेको ‘छक्का पञ्जा ५’ ले १४ करोड ८८ लाख र ‘१२ गाउँ’ ले १९ करोड ३७ लाख रुपियाँको व्यापार गरेको छ । नेपाली चलचित्रले ब्यापार बढाईरहँदा कुनैबेला नेपालभित्रै उच्च व्यापार गर्ने भारतीय चलचित्रको व्यापार खुम्चिएको छ । यो खुसीको कुरा हो । किनभने नेपाली पैसा विदेश जान धेरै कम भएको छ । चलचित्र क्षेत्रले के देखाएको छ भने अव नेपालभित्र स्वदेशी चलचित्रको बजार बढ्दै गएको छ । यो अत्यन्त खुसीको कुरा हो । विगतकै कुरा गर्ने हो भने नेपाली चलचित्रप्रति हामी नेपालीले नै हेय भावना राख्ने जमाना थियो । नेपाली चलचित्र राम्रो हुँदैन भन्दै भारतीय चलचित्र हेर्ने प्रचलन बढेकै थियो तर जमाना फेरिएको छ । अहिले नेपाली चलचित्रले बजार पाउन थालेका छन् । त्यसको मूख्य कारण भनेको नेपाली चलचित्र स्तरीय बन्न थालेका छन् । कथाबस्तुले नेपालीपन दिन थालेका छन । नेपालको यथार्थ जीवन पस्किन नेपाली चलचित्र उद्योग सफल हुदै गएका छन् । उदाहरणकै रूपमा ‘पूर्णबहादुरको सारंगी’ ले सिनेमा क्षेत्रमा जादु नै सिर्जना गरेको छ । यो फिल्म रिलिज भएयता ४६५ शो नै ‘हाउसफुल’ भएको र एकै दिन ३ करोड ९० लाखको कीर्तिमानी व्यापार गरेको छ । ‘पूर्णबहादुरको सारंगी’ संगै यसवर्ष सात महिनामै ११ वटा नेपाली चलचित्रले सफलता पाएका छन् । दशैंको फूलपातीको दिन एकैपटक तीन फिल्म ‘१२ गाउँ’, ‘छक्कापञ्जा–५’ र ‘ज्वाइँसाब’ प्रदर्शनमा आएका थिए । अहिलेसम्म यी फिल्मको कुल आम्दानी ५० करोड नाघेको अनुमान गर्न सकिन्छ । यसरी विगतको तुलनामा नेपाली फिल्मले अभूतपूर्व चमत्कार गरेर देखाएका छन् । आगामी दिनमा पनि यही स्तरका नेपाली चलचित्र निर्माण गर्ने, नेपाली जीवन र परिवेश अनुसारको कथाबस्तुमा आधारित चलचित्र निर्माण गर्नेतर्फ निर्माताको ध्यान जानु आवश्यक छ ।
नेपाली चलचित्रको इतिहासको कुरा गर्दा सवैभन्दा पहिला वि.सं. २००८ भदौ २९ गते पहिलो नेपाली भाषाको चलचित्र सत्यहरिश्चन्द्र निर्माण भएको थियो । नेपालभित्र चलचित्र निर्माण गर्ने कुनै पूर्वाधार थिएन. । तरपनि सत्यहरिशचन्द्र निर्माणले नेपालमा चलचित्र निर्माण हुन सक्छ भन्ने उदाहरण दियो । यद्यपि त्यो भारतमा निर्माण गरिएको नेपाली चलचित्र थियो । नेपालमै भने २०२१ साल असोज २२ गते आमा चलचित्र सार्वजनिक भयो । यो सरकारी तवरमा बनेको चलचित्र सूचना विभागले निर्माण गरेको थियो । त्यसको दुई वर्षपछि मात्र निजी क्षेत्रबाट माइतीघर बन्यो । त्यसपछि चलचित्र चलचित्र बन्ने क्रम सुरुवात भएको हो । जेहोस पछिल्लोसमय नेपाली चलचित्रले सफलता पाउँदै गएका छन् । नेपाली चलचित्रले दर्शकको मन जित्न थालेका छन् । दर्शकको मनसंगै राम्रो आम्दानी पनि गर्न थालेका छन् । नेपाली चलचित्र हप्तौंसम्म हाउसफुल हुनु हामी नेपालीका लागि गौरवकै कुरा हो । भारतीय चलचित्रको दवदवा अन्त्य गर्न अव नेपाली चलचित्र सक्षम छन भन्ने आधार सिर्जना भएको छ । अवको दिनमा अझै राम्रो चलचित्र बन्नुपर्दछ । नेपाली चलचित्रलाई शुभकामना ।