© २०२३
बुटवल, २० असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन एकजना सरदार पटक पटक दिल्ली गएको भन्ने अभिव्यक्ति अक्षम्य भएको टिप्पणी गरेका छन् । प्रचण्डको उक्त अभिव्यक्ति उनी सत्ता र शक्तिका लागि जे पनि गर्छन भन्ने श्रृंखलाको हदैसम्मको नकचरोपन भएको आरोप लगाएका छन् । नेपालको प्रधानमन्त्री को हुने भन्ने कुरामा वाह्यरुपमा जतिसुकै चलखेल भएपनि अन्तिममा टुंगो लगाउने निकाय प्रतिनिधि सभा नै हो भन्दै महासचिव पोखरेलले जन निर्वाचित प्रतिनिधि सभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमुल्यन गर्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति अक्षम्य भएकाले यस विषययमा प्रतिनिधि सभाका सदस्यहरुको ध्यान गम्भीर रुपमा जाने नै छ भनेका छन् । प्रचण्डको धुर्त्याईले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको महासचिव पोखरेलले आरोप लगाएका छन् ।
नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका प्रितम सिंहमाथि किरणदीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली ः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ विमोचन कार्यक्रममा प्रचण्डले प्रितम सिंहले ‘एक पटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो । धेरैचोटि दिल्ली जानु पनि भयो । काठमाडौंमा नेताहरू साथीहरूसँग लगातार छलफल गर्नुभयो’ भनेका थिए ।