© २०२३
तुलसीपुर उपमहानगरपालिकाको ६ नम्बर वडाले अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ । तुलसीपुर मेट्रो अस्पतालमा संचालित कोरोना अस्पतालका लागि २ वटा अक्सिजन कन्सट्रेटर सहयोग गरेको हो । अक्सिजको चरम अभावका कारण कोरोना संक्रमित बिरामीलाई उपचारमा समस्या भएपछि अटोमेटिक अक्सिजन उत्पादन गर्ने कन्सट्रेटर सहयोग गरेको तुलसीपुर उपमहानगरपालिका ६ का वडा अध्यक्ष नवराज लामीछानेले जानकारी दिए ।
कन्सटे«टरले प्रति मिनेट ४ लिटरसम्म अक्सिजन उत्पादन गर्ने गर्छ । अक्सिजन अभावमा कोरोना संक्रमित बिरामी छटपटीएका बेला अक्सिजन कन्सट्रेटर उपकरण खरिद गरेर कोरोना आइसोलेसन अस्पताललाई दिने ६ नम्बर वडा १९ वटा वडा मध्ये पहिलो हो । कन्सट्रेटर मंगलबार रातिदेखि सञ्चालनमा आएको छ । यसैबिच नेपाल रेडक्रस दाङले तुलसीपुर मेट्रो अस्पताललाई विभिन्न सामग्री सहयोग गरेको छ । अस्पतालमा सञ्चालित आइसोलेसनमा उपचार गराइरहेका कोरोना संक्रमित बिरामीका लागि ३ वटा वाटर डिस्पेन्सर, एक हजार लिटरको टंकी, पानी तातो गराउन प्रयोग गरिने ३० वटा किट्ली, ५ वटा टेबुल पंखा, ५० वटा गिलास दिएको रेडक्रसले जानकारी दिएको छ । रेडक्रसका कार्यक्रम अधिकृत विश्राम अधिकारीले एक कार्यक्रमका बिच तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेलेलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् । यसअघि पनि यूनिसेफको साझेदारीमा रेडक्रसले विभिन्न सामग्री सहयोग गरेको थियो ।
त्यस्तै दलित महिला संघ दाङले तुलसीपुर मेट्रो अस्पताललाई एक लाख आर्थिक सहयोग गरेको छ । आइसोलेसन व्यवस्थापन र अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेको दलित महिला संघ दाङकी अध्यक्ष युवा कराराले जानकारी दिईन् । कोरोना महामारीका कारण अक्सिजन अभावमा नागरिकले अकालमा ज्याउन गुमाउनु परेको बताउँदै यसको रोकथाम र नियन्त्रणका लागि आर्थिक सहयोग गरेको अध्यक्ष कराराले बताईन् ।
त्यसैगरी कोरोना महामारी रोकथाम तथा नियन्त्रणकालागि तुलसीपुर कोरोना आइसोलेसन अस्पतालमा पुगेर तुलसीपुर उपमहानगरपालिका ६ शिखरकोलनीका दोर्णबहादुर केसी, मञ्जीता कोसीले पाँच हजार पाँच रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै नेपाल टेलिकम तुलसीपुरका कर्मचारी लक्ष्मीनारायण अर्जेलले पनि तुलसीपुर कोरोना अस्पताललाई ५ हजार सहयोग गरेको उपमहानगरपालिकाले जनाएको छ ।