© २०२३
बुटवल, १६ असार । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी शक्तिबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन्।
पोखरामा आज बिहान माओवादी केन्द्रका उपलब्ध केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पदाधिकारीसँग अन्तरक्रिया गर्दै उनले माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दासमेत कमजोर हुने भएकाले एकताको पहल गरिएको बताए।
प्रधानमन्त्री दाहालले जनताले माओवादी नेतृत्वको सरकारमाथि धेरै आशा र भरोसा राखेकाकाले सबै मिलेर देश निर्माणका पक्षमा लाग्नुपर्नेमा जोड दिए।
देशमा उपलब्ध प्राकृतिक साधनस्रोत उपयोग गरेर देशको समुन्नतिका पक्षमा फड्को हान्ने आफ्नो योजना रहेको प्रधानमन्त्रीले सुनाए।
हालै गठन गरिएको समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्ने उनले जानकारी दिए। मोर्चाको बैठक बसेर कार्यक्रम तय गरिने प्रधानमन्त्रीले जानकारी दिए।
सरकारका कामको व्यवस्थित स्वामित्व, पार्टी निर्माणको काम, समाजवादी मोर्चा र पार्टी एकताको प्रयासलाई सँगसँगै अघि बढाइने प्रधानमन्त्रीले बताए।