© २०२३
बुटवल,१४ असार । पशुपतिनाथ मन्दिरमा प्रतिस्थापित सुनको जलहरीलाई लिएर विवाद उत्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसको नापजोख गर्ने काम सम्पन्न गरेको छ ।
अख्तियारबाट गएको टोलीले जलहरीमा सुनको परिमाण ठीक छ वा छैन भनेर जोखेर हेरेको थियो ।
जलहरीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसहित १३ जनाको नाम कुँदिएको समाचार केही सञ्चारमाध्यममा आएको थियो ।
यस विषयमा पशुपति विकास कोष र अख्तियार दुवै निकायले जलहरीमा तत्कालीन पदाधिकारीहरुको नाम कुँदिएको अस्वीकार गरेका छन् ।
पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आइरहेका कुराहरु सत्य नभएको बताए ।
उनका अनुासर जलहरीमा कसैको पनि नाम कुँदिएको छैन ।
उनले भित्तामा राखिएको उद्घाटन प्लेटमा परम्परागत प्रचलनअनुसार तत्कालीन राष्ट्रपति, प्रधानमन्त्रीलगायतको नाम उल्लेख रहेको स्पष्ट पारे ।
अख्तियार स्रोतले पनि जलहरीमा कसैको नाम नभएको बतायो । यसबारे सबै प्रक्रिया सकिएपछि औपचारिक वक्तव्यमार्फत जानकारी गराउने स्रोतको भनाइ छ ।
२०७७ साल फागुन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपति मन्दिरमा सुनको जलहरी राखिएको थियो ।