© २०२३
शान्तिपुर, गुल्मी बिहान उठ्ने बित्तिकै गाउको फन्को मारेर घर फर्कनु राम बहादुर खत्रीको दैनिकी हो । ६६ वर्षका खत्री हरेक बिहान गाउँ घुम्दा गाउँमा खानेपानीका पाईप, सिंचाई कुलो, विजुली बत्तिमा कुनै समस्या छ कि भनेर हेर्छन् । सामान्य समस्या भएमा आफैले मर्मत गर्छन् र आफुले नसक्ने भएमा गाउँले र पालिकामा खबर गर्छन् । खत्रीको यो दैनिकी कुनै जागिर नभएर गाउँ जोगाउने प्रयत्न मात्र हो ।
गुल्मीको चन्द्रकोट गाउपालिकाको केन्द्र शान्तिपुर बजारदेखि आधा घन्टाको पैदल दुरीमा पुगिन्छ खत्रीको गाउँ हर्राचौर । वार्ड नम्बर ३ को केन्द्र रहेको उनको गाउँमा रहेका ४ टोलमा ३ सय घरधुरी रहेका छन् । लाहुरेको गाउँ भनेर चिनिने गाउँ निकै सुन्दर भएपनि मानिसहरुको चहलपहल कमै देखिन्छ । सबैजसो घरमा पाका पुस्ता मात्र देखिन्छन् । युवा र बालबालिकाहरु तराई र शहरमा बस्न थालेपछि गाउँका धेरै घरहरु मानव विहिन हुने क्रम बढेको छ । गाउँमा आधारभूत सेवा सुविधा भएमा बाँकी जनसंख्यालाई गाउँमा रोक्न सकिन्छ कि भन्ने झिनो आशाले शहरको सुख सुविधा छोडेर खत्रीले आफुलाई गाउँमै समर्पित गरिरहेका छन् ।
भारतीय सेनामा सन् १९७४ मा भर्ति भएका राम बहादुर खत्रीले अनेररी क्याप्टेनबाट २०११ जुलाईमा अवकाश प्राप्त गरेका थिए । सेनामा प्राविधिक सेवाको अनुभव प्राप्त गरेका खत्रीले गाउँको विकास निर्माणमा बढी चासो राख्छन् । बाटोघाटो, खानेपानी, उन्नत कृषि, सिंचाई, विद्युतीकरण कार्यमा उनि आफै खट्ने गर्छन् । बिहानी खाना खाएपछि हरेक दिन खत्री गाउँको हर्राचौर माबिमा पुगेर पठनपाठन के कस्तो छ? भनेर बुझ्छन् । विद्यालय सुधार्न अन्यत्र भएका असल अभ्यासहरू गाउँको विद्यालयमा लागू गर्न सल्लाह दिन्छन् । पहाडमा गुणस्तरीय शिक्षा प्राप्त नभएकोले विकासमा पछि परेको मात्र नभई शिक्षाकै लागि बसाई सारेकोले गाउ रित्तिदै गएको उनको बुझाई छ । चन्द्रकोट क्याम्पस र हर्राचौर माबि बिद्यालय व्यवस्थापन समिति सदस्य समेत रहेका खत्री भन्छन,“ गाउँमा सबै सुविधा पुगेपनि गाउँ छोड्नेको लर्को रोकिएको छैन । गाउँमै गुणस्तरीय शिक्षा दिन सक्ने हो भने कम्तिमा पनि पढ्नको लागि अन्यत्र जाने क्रम रोक्न सकिन्थ्यो कि?”
गाउँमा खेतीपाती राम्रो हुने भएपनि सिचाईको अभावले गर्दा किसानलाई समस्या थियो । गाउँबाट डेढ किमी टाढा पानीको मुहान भएपनि पहरोको कारण पानी ल्याउन असम्भव बनिरहेको थियो । यो असम्भव कामलाई सम्भव बनाउन गाउलेहरुलाई नेतृत्व दिन खत्री कस्सिए । दौडांडे–देउरालीडांडा– चौर कुलो निर्माण समिति गठन गरेर त्यसको नेतृत्व लिएर खत्रीले काम सुरु गराए । कठिन मानिएको पहरामा ३०० मिटर पाईप राखियो र बाँकी १४०० मिटरमा पक्कि कुलो बनाएर अहिले गाउँमा पानी ल्याईएको छ । अहिले गाउमा बाह्रै महिना सिचाई सुविधा पुगेको छ ।
अल नेपाल भारतीय भूपू सैनिक कल्याणकारी संघ शान्तिपुर र बरेंग खण्डका अध्यक्ष तथा गुल्मी जिल्ला उपाध्यक्ष रहेका खत्री भारतीय भूपू सैनिकका सुखदुखका साथि हुन् । कुनै भूपू सैनिकको पेन्सन र अन्य कागजात सम्बन्धि समस्या परेमा तम्घास र बुटवल दगुरिहाल्छन् । वृद्ध र अस्वस्थ पेन्सनधारिलाई पेन्सनक्याम्पमा पु¥याएर छिटो पेन्सन दिलाउन खत्रीले सहजीकरण गरिदिन्छन् । गुल्मी र बुटवलमा हुने भारतीय भूपू सैनिकको भेलामा पुगेर अनुाव र सुखदुख साटासाट गर्न उनि कहिल्यै छुटाउदैनन् । भूपू सैनिकहरुकै पहलमा गाउँका विद्यालय, स्वास्थ्यचौकी र खानेपानीमा उल्लेखनीय सुधार भएको उनि बताउछन् ।
खत्रीले गाउको घरलाई ‘स्यापर हाउस’ नामाकरण गरेका छन् । आफु सैनिक इन्जिनियरिंग विभागमा काम गरेकोले सम्झना स्वरुप घरको नामकरण गरेको उनि बताउछन् । घरको मौलिक स्वरूप नबिग्रने गरि घरको पुनर्निर्माण गरेर घरलाई शहरी सुविधायुक्त बनाएका छन् । घर वरिपरी फलफूलका विरुवा हुर्काएका छन् । समाजसेवामा खटिएको बाहेकको समय उनको समय खेतबारीमै बित्ने गरेको छ । जंगली जनावरले खेतीपाती जोगाउन कठिन भएपनि खेतबारी बाँझो राख्दा धर्तीले सराप्ने र गाउँ निरस हुने भएकोले आफुले खेतीपाती त्याग्न नसकेको खत्री बताउछन् ।
भारतीय सेनामै रहदा सन् १९९८ डिसेम्बर २००० मार्चमा उनि अन्टार्टिका पुगेका थिए । अन्टार्टिका पुग्ने उनी दोश्रो नेपाली हुन् । खत्रीले बैज्ञानिक अनुसन्धान टोलीको प्राविधिक समन्वयकर्ताको रुपमा अन्टार्टिकामा १५ महिना विताएका थिए । अन्टार्टिका पुग्ने दोश्रो नेपाली भएपनि खत्रीको बारेमा धेरै मानिसहरुलाई जानकारी नै छैन । शान्तिपुर र छेउछाउका गाउँमा अन्टार्टिका बा भनेर उनलाई मानिसहरुले बोलाउदा खुशी मान्छन् । विद्यालयहरुमा पुग्दा र सामुदायिक भेलामा खत्रीले आफ्नो अन्टार्टिका यात्राको बारेमा बताउदा उनी अन्टार्टिका पुगेको भन्ने कुरामा धेरैले विस्वास नगर्ने उनले हास्दै बताउछन् ।
अन्टार्टिका बाका ४ जना छोराहरु पनि रोजगारी र व्यवसायको क्रममा तराई र शहरमा बसोबास गर्छन् । खत्रीलाई पनि छोराछोरीहरुले शहरको घरमा बस्न कर गरिरहन्छन । तर खत्री दम्पत्ति भने पहाडको गाउँ स्याहारेर बस्दा आनन्द लाग्ने र गाउँको सेवा गर्नु कर्तब्य भएकोले गाउँ छोड्न नचाहेको बताउछन । खत्री भन्छन् ‘गाउँ भनेको आमा जस्तै हो. जसरि आमालाई वेवारिसे छोडेर अर्की आमा ल्याउन सकिदैन,त्यसैगरी गाउँलाई अलपत्र छोडेर सुविधा खोज्दै अन्यत्र भासिनु हुदैन ।’ खत्रीको विस्वास छ —सक्नेहरुले गाउलाई माया गर्ने र स्याहार्ने हो भने गाउँ छोडेर अन्यत्र गएकाहरु एकदिन गाउ कसो नफर्केलान ?