© २०२३
नवलपरासी, ०३ असोज ।
जिल्लाको सुनवल नगरपालिकामा पशु सेवाका लागि पशु सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको दुई बर्ष बितिसक्दा पनि उक्त केन्द्र सञ्चालनमा ल्याउन सकेको छैन । नगरपालिका नेतृत्व सो केन्द्र प्रति उदासिन हुँदा भवन बनेको दुई बर्ष बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको स्थानीयले गुनासो गरेका हुन् ।
साविक स्वाठी गाविसमा भएको उक्त केन्द्रलाई हालको नगरपालिका नेतृत्वले उपेक्षामै राखेका कारण सञ्चालनमा ल्याउन नखोजिएको आरोप स्थानीयबासीको छ । तत्कालिन नगरप्रमुख भिम बहादुर थापाको पहल र सो वार्डका वार्ड अध्यक्ष राजेन्द्र यादवको सक्रियतामा पशु सेवा केन्द्र सञ्चालन गर्ने गरि पशु चिकित्सकको आवास सहितको केन्द्रिय योजना अनुसार केन्द्रको पूर्वाधार निर्माण गरिएको थियो । तर अहिले नगरप्रमुखको त्यस प्रति चाँसो नरहेको आरोप समिति स्थानियबासीको रहेको छ । नगरपालिका भए पनि साविक स्वाठी गाविसमा अधिकाँस कृषकहरूको बसोबास भएको वार्ड हो । पशुपालन र कृषिमा नै ति वार्डका बासिन्दाहरूको जनजिवन रहेको छ ।
नगरपालिकामा पशु सेवा शाखा छ, एक स्थानियले भने, पशु सेवा शाखा सहित यहिँ केन्द्रमा राखेर पनि सञ्चालन गर्न सकिन्छ, तर नगरपालिका नेतृत्वको कार्यशैली कृषक विरोधी नै रहेको देखिएको छ । पूर्वाधार नभए पूर्वाधारको बाहाना हुन्थ्यो, उनले थपे, तर अहिले संघिय सरकारले पूर्वाधार समेत निर्माण गरिदिएको छ, तर नगरपालिका नेतृत्व यो पशु सेवा केन्द्र सञ्चालनमा असक्षम देखिएको छ । यसबारे वार्ड अध्यक्षलाई पटक पटक स्थानीयले पहल गर्न आग्रह गर्दै आएको समेत उनको भनाई थियो । वडा अध्यक्षले केन्द्र सञ्चालनका लागि पटक पटक नगर कार्यपालिकामा कुरा उठाउँदै आएको तर नेतृत्वबाट उपेक्षा भई रहेको स्वयं वडा अध्यक्ष यादवले पनि स्वीकार गरेका छन् । उनका अनुसार नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले डेढ करोड बढि लगानीमा सेवा केन्द्र सञ्चालनका लागि भवन निर्माण गरिएको हो ।
पशु चिकित्सकको आवास सहितको अन्य आवश्यक पूर्वाधार सुनवल नगरपालिका वडा नं.२ मा निर्माण भएको सोही वार्डका वडा अध्यक्ष यादवले जानकारी गराए । उनका अनुसार यो भवन सुबिधासम्पन्न भवन बनेको छ । तर अहिलेसम्म नगरपालिकाले सेवा सुचारु गर्न सकेको छैन् । यसबारे नगरपालिकाको पशु सेवा शाखामा कुरा भई रहेको तर हालसम्म केन्द्र सञ्चालन हुन नसकेको उनले बताए ।
कुल १ करोड ५१ लाख ३ हजार २ सय ४८ रुपिया लागतमा २०७७ साल चैत्र १० गते सम्झौता भई २०७८ कार्तिक ६ गते सम्ममा निर्माण सम्पन्न गर्ने म्याद रहेको थियो । भवनको निर्माण कार्य सम्पन्न भएको तर सो भवन अहिले निर्माण कम्पानीले हस्तानान्तरण गरेको छैन्,वार्ड अध्यक्ष यादवले भने, एशियन बसन्त जेसि बुटवलले निर्माण गरेको हो । नगरपालिकाले पशु सेवा केन्द्र कसरी सञ्चालन गर्ने योजना बनाई सक्नु पर्ने हो,तर भवन बनेको हालसम्म पनि केन्द्र सञ्चालनका योजना बन्न सकेको छैन् ।
अहिले अगामी आर्थिक बर्षका लागि योजनाहरू बनिरहेको हुँदा योजनामा समावेश गराउन सहज हुने थियो । तर अहिले पशु सेवा केन्द्र सञ्चालनका लागि के कति आवश्यक जनशतिm र सञ्चालन खर्च लाग्ने हो,त्यसबारे पशु सेवा शाखाले बनाएको छैन । पशु सेवा केन्द्र सञ्चालन गर्नका लागि आफुले निरन्तर पहल गरिरहेको वार्ड अध्यक्ष यादवको भनाइ छ । नगरपालिका भित्र अन्य पशुपंक्षि उपचारका लागि सेवा केन्द्र छैन्, उनले थपे,पशु बिरामी परे जिल्ल सदरमुकाम परासी स्थित पशु अस्पतालमा सेवा लिन जानुपर्ने बाध्यता पशु पालक किसानलाई छ । पशु सेवा केन्द्र सञ्चालनमा ल्याउन सकिए सदरमुकाम धाउनु पर्ने बाध्यता हट्ने थियो ।