© २०२३
काठमाडौं,७ असार । आइएमई ग्रुपद्वारा संचालित लुम्बिनी केबलकार सहित चन्द्रागिरी र मौलाकाली केबलकारको टिकटमा सशस्त्र प्रहरी बल तथा आश्रित परिवारलाई टिकट मूल्यमा २० प्रतिशत छुट हुने भएको छ ।
बिहीबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय र तीनवटै केबलकार कम्पनीहरुले छुट प्रदान सम्बन्धी सम्झौता गरेका हुन्।
सम्झौता अनुसार बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरु,अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु, आश्रित परिवारहरु साथै नेपाल एपीएफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले केबलकार टिकट मूल्यमा २० प्रतिशत छुट पाउने आइएमई ग्रुपले जनाएको छ।
सशस्त्र प्रहरी बलको कल्याणकारी योजनाअन्तर्गत भएको यो सम्झौता बमोजिम छुट प्राप्त गर्न बहालवाला सशस्त्र प्रहरी कर्मचारीहरुले सम्बन्धित कार्यालयले प्रदान गरेको परिचय पत्र, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुले पेन्सन पट्टा तथा आश्रित परिवारहरुले नाता प्रमाणित कागजात देखाउनु पर्ने बताइएको छ।
सम्झौता पत्रमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक प्रविण कंडेल र मौलाकाली तथा लुम्बिनी केबलकारका तर्फबाट कम्पनीका प्रतिनिधि रुद्र पौडेल, चन्द्रागिरी हिल्सका तर्फबाट महाप्रबन्धक सन्जिव थापाले हस्ताक्षर गरेका छन्।
हस्ताक्षर समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेल, आइएमई अन्तर्गतको बेस्ट रिसोर्टका निर्देशक अभिषेक विक्रम शाह लगायत आइएमई ग्रुप तथा शसस्त्र बलका प्रतिनिधिहरुको सहभागिता थियो।