© २०२३
बुटवल,१६ जेठ । रुपन्देही ५ का प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले बुटवलको लुम्बिनी केबलकारको अवलोकन र कामाख्यादेवीको मन्दिर दर्शन गरेका छन् । केबलकार अवलोकन र मन्दिर दर्शनपछि सांसद घिमिरेले नेपालको आर्थिक विकास र समृद्धिको आधार पर्यटन नै भएको उल्लेख गर्दै लुम्बिनी प्रदेशको पहिलो केबलकार बुटवलमा सञ्चालनले बुटवल र पाल्पाको बसन्तपुरमा नयां पर्यटकीय र धार्मिक गन्तब्य थपिएको बताए । यसले पर्यटन विकाससंगै बुटवलको व्यापार व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने बताए । उनले आन्तरिक र भारतीय तथा विदेशी पर्यटक आकर्षित गर्न टप स्टेशन बसन्तपुरमा छिटो स्तरीय होटेल निर्माण र सञ्चालन गर्न सुझाव दिए । केबलकार सञ्चालनलाई दीगो बनाउन सके प्रदेशको राजधानी दाङ सरेको क्षतिपुर्ति हुन सक्ने सांसद घिमिरेले बताए ।
सांसद घिमिरेलाई आईएमई ग्रुपका डाइरेक्टर रुद्र पौडेलले स्वागत गर्दै केबलकार परियोजनाबारे जानकारी गराएका थिए । डाइरेक्टर पौडेलले ५ अर्ब लागतको केबलकार आयोजनामा अब छिटै बसन्तपुरमा साढे ३ अर्ब लगानीमा १५० कोठासहितको पांचतारे होटेल र क्यासिनो निर्माण शुरु हुने बताए । कामाख्या मन्दिरमा ब्यासाचार्य किशोर गौतमले सांसद घिमिरेलाई स्वागत गर्दै नयां धार्मिक र पर्यटकीय क्षेत्रको विकासमा सरकारको धयानाकर्षण गराउन संसदमा आवाज उठाइदिन आग्रह गरेका थिए ।