© २०२३
नेपाल संस्कृत विश्वविद्यालय प्रविधिमा जोडिन थालेको छ । परम्परागत रूपमै आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आएको विश्वविद्यालयका सबै कार्यक्रम प्रविधिमैत्री बनाइने, परीक्षा र पठनपाठन समेत आवश्यक अवस्थामा प्रविधिबाटै सञ्चालन गर्ने गरी तयारी गरिएको संस्कृत विश्वविद्यालयले जनाएको छ ।
संस्कृत शिक्षाको थलोको रूपमा विकास भएको विश्वविद्यालयले विश्वका जुनसुकै देशमा रहेका नेपालीले संस्कृत शिक्षा पढ्न चाहेमा अनलाइन मार्फत शिक्षण गराउन सकिने बनाएको विश्वविद्यालयका कुल सचिव माधव अधिकारीले जानकारी दिए । यसका लागि विश्वविद्यालयमा रहेको प्रविधि र गुरूहरूको अभ्यासलाई बढवा दिई राखिएको छ । सबै प्रकारका शैक्षिक गतिविधिहरू विश्वविद्यालयको वेवसाइटबाट नै नियमित रूपमा प्रकाशन भइरहेकोमा अब परीक्षा फल मात्रै नभएर लब्धाङ्क पत्रसमेत हेर्न सकिने व्यवस्था गरिएको अधिकारीले बताए । उनले लकडाउनको समयमा पनि अनलाइन पद्धतिको विकास गरी विद्यार्थीहरूलाई शिक्षा दिइरहेको जानकारी दिए । विभिन्न विषयमा अध्ययन अनुसन्धानगरी विश्वविद्यालयलाई समयानुकूल विकास गर्दै लगिरहेको उनको भनाई छ ।
विश्वविद्यालयका उपकुलपति रमेशप्रसाद ढकालले विश्वविद्यालयलाई संकटको बेला कसरी अघि बढाउने भन्ने विषयमा व्यवस्थित योजना बनाएर काम गरिरहेको जानकारी दिए । अनलाइन सफ्टवेयर तयार गरी प्राध्यापक, विद्यार्थी र कर्मचारीहरूलाई प्रविधिमा जोडेर काम गरिरहेको उनले जानकारी दिए । विभिन्न क्याम्पसहरूको भौतिक, प्रविधि र शैक्षिक प्रगतिका लागि भएका कामहरूबारे उनले जानकारी दिए । लकडाउनकै बीच गुरूयोजना निर्माण गरी विभिन्न शैक्षिक तथा भौतिक विकासका कामहरू भईरहेको उनले बताए । संस्कृत विश्वविद्यालयको भौतिक पूर्वाधार उपयोग गरी प्रदेश सरकारसँग समन्वय गरेर बेलझुण्डीमा कोरोना विशेष अस्पताल सञ्चालन गरेको र अहिलेसम्म निरन्तर सञ्चालन भईरहेको अधिकारीले जानकारी दिए ।
परीक्षा नियन्त्रक निलप्रसाद सापकोटाले परीक्षा नियन्त्रण कार्यालयलाई पनि अनलाइन प्रविधिमा जोडेर काम गरिरहेको बताए । परीक्षाको नतिजा अनलाइनमा राख्ने काम गरेको उनले जानकारी दिए । कोरोनाको समस्या लम्बिरहेमा परीक्षा कसरी सञ्चालन गर्ने ?भन्ने विषयमा छलफल भईरहेको उनले बताए । चैतमा तोकेको परीक्षाहरू कोरोनाका कारण पछि सरेको र भदौमा गर्न खोज्दा पनि कोरोनाको प्रभाव अझ बढी देखिएको भन्दै उनले अनुकूल वातावरण भएमा तत्काल परीक्षा सञ्चालन हुने बताए । परीक्षा नियन्त्रक सापकोटाले अहिले परीक्षा नियन्त्रण कार्यालयले प्रविधिलाई जोड दिएको भन्दै लब्धाङ्क पत्रसमेत वेवसाइटमै राखिएको बताए । परीक्षार्थीलाई सहज होला भनेर सिम्वोल नम्बर र जन्ममितिको आधारमा लब्धाङ्कपत्र वेवसाइटमै हेर्न सक्ने गरी प्रविधिको विकास गरिएको जानकारी दिए । “यो विश्वविद्यालयको प्रविधिको उपलब्धिमूलक कार्य मान्न सकिन्छ” सापकोटाले भने ।
आयुर्वेद अध्ययन संस्थानका डिन डा सञ्जय पोखरेलले आयुर्वेद शिक्षाको महत्वलाई बढावा दिइरहेको बताए । कोरोनाको समस्यालाई मध्यनजरगरी आयुर्वेदको औषधि उत्पादन र यसको उपयोगिताबारे खोज अनुसन्धान भईरहेको जानकारी दिए ।