© २०२३
बुटवल, ५ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी लडाकु शिविरमा भएको घोटाला राज्यमाथिको खुलेयाम लुट र डकैती भएको टिप्पणी गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकु शिविरमा कुनै भ्रष्टाचार नभएको प्रष्टिकरण दिएकोप्रति लक्षित गर्दै महासचिव पोखरेलले राज्यमाथि खुलेयाम लुट र डकैंतीलाई भ्रष्टाचार भन्न नमिल्ने उल्लेख गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा ‘लडाकु शिविरको खुला सत्य !! ’ शिर्षकमा आफ्ना विचार लेख्दै महासचिव पोखरलले ७–८ हजारको हाराहारीमा रहेको लडाकुहरुलाई ३२–३३ हजार पुर्याएको कुरा प्रचण्ड आफैले बोलेको अडियो सामाजिक संजालमा सुरक्षित रहेको उल्लेख गरेका छन् ।
‘लुकेर गरेको भए पो भ्रस्टाचार र अनियमितता हुन्थ्यो । त्यो राज्य माथिको खुलेआम लुट थियो, डकैती थियो । अनि माओवादीका सुप्रिमोहरुलाई लागिरहेको पनि होला खुलेआम लुट र डकैतीलाई भ्रष्टाचार भन्न मिल्छ र ?’–पोखरेलले लेखेका छन्–‘वास्तविक लडाकु ७–८ हजार मध्ये केहीलाई शिविरमा राखेर अरु बाँकीलाई वाईसियलका रुपमा राजनीतिक रुपमा परिचालित गरेको तथ्य अहिले माओवादीवाट बाहिरिएका धेरैले बोल्ने गर्दछन्,शिविरमा रहेकाहरुले वुझ्नेगरेको भत्ताको चेक उनीहरुका कमाण्डरले खोसेर राख्ने गरेको कुरा त्यहां बस्ने लडाकुहरु धेरैले धेरैपटक उठाउदै आएको कुरा हो ।’
अनमिनले प्रमाणिकरण गरेकाहरु मध्ये धेरैजसो समायोजनमा नगएर स्वेच्छिक अवकास रोजेर राज्यबाट ठुलो रकम प्राप्त गरेका तथ्यहरुबाट राज्यले कति अनुचित आर्थिक भार बोक्नु पर्यो र लडाकुको नाममा राज्यले उपलव्ध गराएको सहयोग कसरी उनीहरुका कमाण्डरहरुले लुटे र कसकसलाई बुझाए भन्ने कुरा खोजि गर्दा लुक्न सक्ने कुरा नभएको महासचिव पोखरेलको भनाई छ ।
तर पनि नेपाली जनताले शान्तिका नाममा ती सवै कुरालाई आजसम्म सहंदै आएका पोखरेलले उल्लेख गरेका छन् ।