© २०२३
बुटवल, ५ जेठ । दाङको देउखुरीमा दुई यात्रुवाहक बस ठोक्किँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार बिहान भएको उक्त दुर्घटनामा २१ यात्रु घाइते भएका छन् ।
मृत्यु हुनेमा रोल्पा रुन्टीगढी ७ की ४२ वर्षीया शोभा परियार हुन् । उनका दुई छोरा पनि घाइते भएका छन् ।
लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगञ्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका ३ फल्कापुरमा पूर्वपश्चिम राजमार्गमा ठोक्किएर दुर्घटना भएको वडा प्रहरी कार्यलय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिए ।
बाराबाट इँटाभट्टामा काम गरेर रोल्पा घर फर्किँदै गरेका मजदुर सवार बस दुर्घटनामा परेको हो । लु २ ख ७८५ नम्बरका चालक तुल्सीराम रामिजाल गम्भीर घाइते छन् । ११ जना गम्भीर घाइतेलाई उपचारका लागि बुटवल, भैरहवा, नेपालगञ्ज रिफर गरिएको प्रहरीले बताएको छ ।