© २०२३
बुटवल,४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी पूर्वलडाकुको नाममा भ्रष्टाचार भएको प्रमाणित भए जेल जान तयार रहेको बताएका छन्।
संघीय संसद्अन्तर्गत आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्नोत्तर कार्यक्रममा राप्रपाका सांसद् ज्ञानेन्द्र शाहीले ८४६० पूर्व लडाकुको नाममा अर्बौं रुपैयाँ गएको छ। ती लडाकु को हुन् अनि क्यान्टोन्मेन्टमा भएको भ्रष्टाचारमा छानविन गर्न तयार हुनुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री दाहालले क्यान्टोन्टमेन्टमा भएको घोटलाबारे कसैले छानविन गरेर आफू दोषी भए जेल जान तयार बताए।
उक्त क्यान्टोन्टमेन्टको भ्रष्टाचारको आरोप कपोलकल्पित मात्र रहेको प्रधानमन्त्री दाहालले बताए।
८ पुस २०६४ मा चितवनको शक्तिखोरस्थित लडाकु शिविरमा प्रचण्डले दिएको आन्तरिक प्रशिक्षणले फर्जी लडाकु संख्या पेश भएको र पैसा दुरुपयोग भएको आशंका उब्जिएको थियो ।
प्रचण्डले लडाकुबाट प्राप्त पैसा विद्रोहको तयारीमा लगाउने बताएका थिए । एक टेलिभिजन मार्फत बाहिरिएको उक्त भिडियो टेपमा उनले लडाकु संख्याबारे भनेका थिए –‘ तपाईं हामी साँच्चै कति थियौं क्यान्टोनमेन्टमा भन्नुहोस् त । हामी ७–८ हजारको बीचमा पुगिसकेका थियौं । त्यति नै राखेको भए भेरिफिकेसनले कति रहन्थ्यौं ? ४ हजार । हामीले ३५ हजार लगेर राखिदिएको, २० हजार त आयो कमसेकम । यो हो नि त साँचो कुरा । ’