© २०२३
बुटवल,३ जेठ । सर्वोच्च अदालतको फैसलाविरुद्ध नागरिक उन्मुक्ति पार्टीले ५ दिने नेपाल बन्दको घोषणा गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको हो।
टीकापुर घटनामा रेशम चौधरीलाई सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै मंगलबार जन्मकैदको फैसला गरेको थियो। पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितको हस्ताक्षर गरिएको विज्ञप्तिमा जेठ ३ देखि ५ सम्म देशभर राँके जुलुस प्रदर्शन गर्ने जनाइएको छ।
यसैबीच जन्मकैदको सजाय पाएका पार्टीका नेता रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्नुको विकल्प नरहेको बताएका छन्।
मंगलबार सर्वोच्चले आफूलाई जन्मकैदको फैसला सुनाएपछि बुधबार विज्ञप्ति जारी गर्दै नेता चौधरीले अदालतले गरेको फैसलामा आफूलाई न्यायिक नभए पनि स्विकार्नुको विकल्प नरहेको बताएका हुन्।
‘जेठ २ गते सम्माननीय सर्वोच्च अदालतले गरेको फैसलामा मप्रति न्यायिक नहुन सक्छ तर त्यसो भन्दैमा स्विकार्नुको विकल्प हुन्न। टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्विकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रा लागि खुला छ। हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौं, साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्छ,’ उनले भनेका छन्।
अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभावी सामाजिक सञ्जालमा जे पायो त्यही पोष्ट नगर्न समेत चौधरीले अनुरोध गरेका छन्।