© २०२३
अर्घाखाँची,२७ बैसाख । अर्घाखांचीको भूमिकास्थान नगरपालिकामा घरमा लागेको आगो निभाउने क्रममा गम्भिर घाइते भएको ५ जना मध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे, ५२ वर्षीय घनश्याम बेल्वासे र ३६ वर्षीय माधव बेल्वासे रहेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका प्रहरी निरीक्षक एवं सुचना अधिकारी कृष्णप्रसाद घिमिरेका अनुसार घाइतेमध्येका पदमलाई थप उपचारको लागि काठमाडौ लैजाने क्रममा नारायणगढ र पिताम्बरको बाटोमै पाल्पामा गएराती १० बजेतिर मृत्यु भएको हो । काठमाडौस्थित कीर्तिपुर अस्पतालमा उपचाररत माधव र घनश्यामको बुधवार विहान ७ बजे मृत्यु भएको उनले बताए । गम्भिर घाइते २६ वर्षीय अस्मिता बेल्वासेको पाल्पा मिसन अस्पतालमा उपचार भैरहेको छ ।
भुमिकास्थानको वडा नम्बर २ तिरतिरे खोला किनाराको जंगलमा मंगलवार लागेको आगो पदम बेल्वासेको घरमा सल्केको थियोे । घरमा आगालागी हुँदा आगो निभाउने क्रममा मंगलबार गम्भिर घाइते भएका ५ जनालाई अर्घाखाँची अस्पतालमा प्राथमिक उपचारपछि मंगलवारै पाल्पा लगिएको थियो । जंगलमा कोही व्यक्तिले आगो लगाइदिएको हुनसक्ने र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।