© २०२३
काठमाडौं, २१ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनले निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने बताए ।
बिहीबार प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि पत्रकारसंग कुरा गर्दै ओलीले बहालवाला सांसदलाई बाटोमै पक्राउ गर्नु रहस्यमय भएको टिप्पणी गरे । निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने ओलीको भनाई थियो ।
निर्दोषलाई फसाउन खोजे आफूहरूले नसहने उनले चेतावनीसमेत दिए । रायमाझीमाथि लागेको आरोपबारे अध्ययन गर्दै गरेको ओलीले बताए ।
चार वर्षअगाडि चेक काटेको र त्यो पनि उसैसँग रहेको कुरा रहस्यमय भएको ओलीले बताए । उपप्रधानमन्त्री भइसकेको पार्टीको नेता र सांसद षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाइनु रहस्यपूर्ण रहेको उनले बताए ।
पक्राउ पुर्जीपछि आफूले पनि फोन गरेर कुरा गरेको बताउँदै रायमाझी काठमाडौं आउँदै गरेको उनले जनाए । उनले त्यसबारे प्रधानमन्त्रीलाई पनि ध्यानाकर्षण गराएको बताएका छन् ।