© २०२३
बुटवल,२१ बैसाख । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गरेको अरोपमा मुछिएका पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी प्रहरीको नियन्त्रणमा रहेको प्रहरी उच्च श्रोतले बताएको छ । स्रोतका अनुसार रायमाझी बिहीबार विहान भैरहवाबाट पक्राउ परेका हुन् । उनलाई बिहीबारै काठमाडौँ लैजाने तयारी छ । तर रायमाझी नियन्त्रणमा रहेकोबारे जिल्ला प्रहरी नेतृत्वले औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले रायमाझी पक्राउ परेकोबारे आफूहरूलाई जानकारी नभएको प्रक्रिया दिए ।
उनका छोरा सन्दीप रायमाझी बुधबार साँझ बुटवलबाट पक्राउ परेका थिए । रायमाझी बाबुछोरालाई पक्राउ गर्न बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । रुपन्देहीको प्रहरी स्रोतका अनुसार काठमाडौँबाट आएको प्रहरीको विशेष टोलीको समन्वयमा रायमाझीका बावु छोरालाई पक्राउ गरेको हो ।नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएपछि पक्राउ परेका सन्दीप रायमाझीलाई आज अदालतमा पेस गरिँदैछ ।
बुधबार बेलुका रुपन्देहीबाट पक्राउ परेका सन्दीपलाई आज काठमाडौं ल्याउने र अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौंमा पेस गर्ने प्रहरी स्रोतले जनाएको छ । उनलाई आज बिहान भैरहवा विमानस्थलबाट काठमाडौं ल्याइँदै छ ।
नेकपा एमालेका सचिव एवम् अर्घाखाँची क्षेत्र नम्बर १ बाट निर्वाचित सांसदसमेत रहेका टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई बुधबार राति भैरहवा हिरासतमा राखिएको थियो । जिल्ला अदालतले बुधबार टोपबहादुर र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पूर्वगृहसचिव सचिव टेकनारायण पाण्डे, मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । गिरोहका नाइके भनिएकाहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ, अशोक पोखरेल र सन्देश शर्मा पोखरेल पनि पक्राउ परिसकेका छन् ।