© २०२३
बुटवल,१८ बैसाख । प्रहरी प्रधान कार्यालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी फरार रहेको भनी दोस्रो पटक संघीय संसद सचिवालयलाई पत्र लेखेपछि उनी निलम्बनमा पर्ने भएका छन् ।
यसअघि प्रहरी प्रधान कार्यालयले गत पुस ७ गते कोइरी फरार रहेको भनी संसद सचिवालयका महासचिवलाई सम्बोधन गरेर पत्र पठाएको थियो ।
उक्त पत्र प्रतिनिधिसभा नियमावली २०७९ बन्नु भन्दा अगाडि आएकाले नयाँ नियमावली अनुसार स्वीकार गर्न नसकिने संसद सचिवालय र सभामुख देवराज घिमिरेको भनाइ सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले कोइरी फरार रहेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएको हो ।
सांसदहरुले ध्यानाकर्षण गर्दा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ बनेपछि कुनै पनि सांसद फरार रहेको जानकारी औपचारिक रुपमा कुनै निकायले नगराएको बताएका थिए ।
जिल्ला अदालतले थुनछेक बहसपछि महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएकामा उच्च अदालत जनकपुरधामले २०७७ मंसिर १९ गते थुनामा राख्न आदेश दिएको थियो । तर त्यसपछि महतो फरार रहेको प्रहरीले जनाएको छ ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नमा सभामुखले यही आशयको जवाफ दिएका थिए । त्यसपछि प्रहरी प्रधान कार्यालयले लक्ष्मी महतो कोइरी फरार रहेको सूचना संघीय संसद सचिवालयमा पुनः पठाएको हो ।
२०७२ भदौ २५ गते मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक थमन बिकलाई घेरा हाली कुटपिट गरी हत्या गरेको घटनामा महतोविरुद्ध कर्तव्य ज्यान मुद्दा जिल्ला अदालत महोत्तरीमा विचाराधीन छ ।
जिल्ला अदालतले थुनछेक बहसपछि महतोलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएकामा उच्च अदालत जनकपुरधामले २०७७ मंसिर १९ गते थुनामा राख्न आदेश दिएको थियो । तर त्यसपछि महतो फरार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले पहिलो पटक संघीय संसद सचिवालयलाई लेखेको पत्रमा कोइरी फरार रहेको जानकारी मात्रै थियो । यसपटक फरार रहेको जानकारीका साथै पक्राउ गर्न सहयोगका लागि समेत संसद सचिवालयलाई आग्रह गरिएको छ ।
कोइरी फरार रहेको र उनलाई पक्राउ गर्नका लागि सहयोग माग गर्दै पत्र आएपछि सभामुख घिमिरे उक्त पत्रबारे अध्ययनमा रहेका र कानुन बमोजिम अर्को अधिवेशनमा निर्णय गर्ने भनिएको छ ।