© २०२३
बुटवल,१७ बैसाख । उपचारका लागि भारत गएका राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी आज राति स्वदेश फर्किँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार आजै राति नेपाल एयरलाइन्सको नियमित उडानबाट पौडेल स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
राष्ट्रपति पौडेलको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस एम्समा अस्पतालमा उपचार भएको थियो ।
विभिन्न परीक्षण र उपचारपश्चात हाल स्वास्थ्यमा उल्लेखनीय सुधार भएको हुँदा अस्पतालबाट डिस्चार्ज भएको प्रवक्ता आचार्यको भनाइ छ । उपचारमा संलग्न चिकित्सकहरूले अझ केही हप्ता आराम गर्ने सुझाव दिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
पेट र छातीमा समस्या देखिएपछि पौडेललाई एयर एम्बुलेन्सबाट वैशाख ६ गते दिल्ली लगिएको थियो ।
यसैबीच खाना पकाउने ग्यास लिक हुंदा आगलागीमा जलेर घाइते भई भारतमा उपचार गराएका नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र चण्डारी पनि आज अस्पतालबाट डिस्चार्ज भएर नेपाल आउंदै छन् । भण्डारी सांझ त्रिभुवन विमानस्थलमा आइपुग्ने उनको सचिवालयले जनाएको छ ।