© २०२३
बुटवल,१७ बैसाख । काठमाडौंमा भएको निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले भएको प्रहरीले बताएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको देखिएको बताए ।
हत्यामा संलग्नको आरोपमा प्रहरीले झापाबाट पक्राउ गरेको विनोद बिकलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । ७ वैशाखमा निराको हत्यापछि उनले निराले लगाएको सिक्री लुट्नुका साथै काउन्टरमा भएको १२ हजार रुपैयाँ लुटपाट गरेको आचार्यले जानकारी दिए ।
बिकले उक्त सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ । निराको हत्याअघि बिकले उक्त पसल हेरेर फर्किएको र दोस्रो पटक गई हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।
एसएसपी आचार्यले थप अनुसन्धानमा नयाँ जानकारी पनि आउन सक्ने तर प्रारम्भिक अनुसन्धानमा सिक्री लुटपाट गर्ने उद्देश्यले नै हत्या भएको बताए ।
निराको परिवारसँग यसअघि बिकको सम्पर्क भएको नपाइएको पनि प्रहरीले बताएको छ ।