© २०२३
बुटवल,१७ बैसाख । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीचको वार्ता सकारात्मक भएर आजका लागि टुंगिएको छ । रक्षा मन्त्रालयमा उप्रपधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासंग भभएको प्रारम्भिक छलफल सकारात्मकरूपमा टुंगिएको हो ।
मुख्यसचिव शंकरदाश वैरागीसमेत सहभागी छलफलमा आज बेलुका पाँच बजेसम्म वार्ता टोली गठन गर्ने निर्णय भएको छ ।
सरकारले चाँडोभन्दा चाँडो आफ्ना मागहरू पूरा गर्नुपर्ने बताउँदै पुनले मागहरु पूरा नभएसम्म आन्दोलन भने नरोकिँने बताए ।
पुन तीन दिनदेखि माइतीघरमा आन्दोलनरत छन् । सरकारले नवप्रवर्तन, अनुसन्धान र आविष्कारलाई महत्व नदिएको भन्दै उनी आन्दोलनमा उत्रिएका हुन् । संघीय सरकार र प्रदेश सरकारले विकास बजेटको एक प्रतिशत नवप्रवर्तन, अनुसन्धान र आविष्कारका लागि छुट्याउनुपर्ने, उक्त रकम खर्च गर्न छुट्टै खरिद ऐन बनाउनुपर्ने लगायत पुनको माग छ ।
त्यस्तै नवप्रवर्तित सामानहरूलाई लाइसेन्स, दर्ता लगायत प्रक्रियामा विना झन्झट सहज बनाइनुपर्ने र बजारीकरणमा सहयोग गर्नुपर्ने उनको माग छ । पुन लगायत उनका समर्थकहरु तीन दिनदेखि माइतीघरमा आन्दोलनरत छन् ।