© २०२३
बुटवल, १२ वैशाख । नेकपा एमालेका नेता एवं रुपन्देही ५ का प्रतिनिधिसभा सांसद वासुदेव घिमिरेले पार्टीमा आमूल रुपान्तरण हुनुपर्ने आवाज उठाएका छन् ।
चितवन, तनहुं र बारामा भएको उप निर्वाचनमा पार्टीका उम्मेदवारले हार्ने निश्चित भएपछि सांसद घिमिरेले परिणामलाई लक्षित गर्दै पार्टी अब यथास्थितिबाट अघि बढ्न नहुने बताएका छन् । ‘तीन वटै निर्वाचन क्षेत्रमा एमालेले मंसिर ४ को चुनावमा पाएको भन्दा हजारौं मत कम पाएको छ, यसको गम्भीर समीक्षा गरी पार्टीमा आमूल रुपान्तरण गर्न ढिलाई गर्न हुन्न ।’
लाखौं कार्यकर्ता र मतदातालाई विचलित हुन नदिन नेतृत्वले ठण्डा दिमागले सोचेर नयां निर्णय र योजना ल्याउनुपर्ने बताए ।
सांसद घिमिरेले एमालेका युवा सांसद र नेताहरुका बीचमा पार्टीलाई रुपान्तरण गर्नेबारे आफूले वृहत छलफल र वहस अभियान चलाउन पार्टीमा प्रस्ताव गर्ने बताए ।
यस्तै राष्ट्रियसभाका निवर्तमान सदस्य एमालेका नेता खिमलाल भट्टराईले उपनिर्वाचनको परिणामले आत्तिई हाल्नु नपर्ने बताएका छन् । पार्टी नेतृत्वले कार्यशैलीमा सुधार र युवा पुस्तालाई विश्वास गरेर अगाडि बढ्दा अवस्था सम्हालिन सक्ने औंल्याएका छन् । उपनिर्वाचनको परिणामलाई लिएर एमाले संगै नेपाली कांग्रेसका नेता कार्यकर्ता पनि नेतृत्वलाई सच्चिनुपर्ने बताउन थालेका छन् । दुबै दलका कार्यकर्ताले ठूला दलका बृद्ध नेताहरुले राजीनामा दिएर नेतृत्व आशालाग्दा युवा नेतालाई हस्तान्तरण नगरे पार्टीको भविष्य समाप्त हुने चेतावनी दिइरहेका छन् ।