© २०२३
बुटवल,१० बैसाख । राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार विहान मतदानको समयमा चितवन भरतपुर महानगरपालिका ११ भोजाडको नयाँ किरण माविमा आचारसंहिता उल्लंघन गरेको स्वीकार गरेको छ ।
आइतबार विहान मतदान भइरहेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा त्यस क्षेत्रका उम्मेदवार रवि लामिछाने मतदान केन्द्रमा पुग्दा समर्थकले उनको पक्षमा नाराबाजी गर्नुका साथै चुनाव चिह्न घण्टीको प्रयोग गरेका थिए । त्यही विषयलाई लिएर अन्य दलले आचारसंहिता उल्लंघन भएको आरोप लगाएपछि विवाद हुँदा मतदान स्थगित भएको थियो ।
आइतबार दिउँसो भएको सर्वलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुबाट आचारसंहिता उल्लंघन भएको स्वीकार गरेको हो ।
सर्वदलीय बैठकको निर्णयमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव सुचारु चलिरहेको समयमा आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम सञ्चालन भएको पाइएको र उक्त दलबाट क्षमायाचना गर्ने निर्णय गरिएको उल्लेख छ । सर्वदलीय भेलाको निर्णय अनुसार रास्वपाले माफी मागेपछि रोकिएको मतदान पुन: सञ्चालन भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले विभिन्न मतदानस्थलमा हुलहुज्जत गर्दै मतदातालाई प्रभावित पारेको भन्दै नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष उजुरी दिएको छ । उक्त घटनामा प्रशासनले पनि एकपक्षीय ढंगबाट मतदाता र प्रतिनिधिमाथि लाठी चार्ज गरेर भयभित बनाएको आरोपसहित चितवनका सीडीओमाथि पनि कारबाहीको माग गरिएको छ ।
गठबन्धनबाट कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठका निर्वाचन प्रतिनिधि ध्रुवराज पोखरेलले आयोगसमक्ष उजुरी दिएका हुन् ।
मतदान प्रक्रिया चलिरहेको अवस्थामा सामाजिक सञ्जाल र अनलाइन मिडियाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले मत मागेको अडिओ/भिडिओ सार्वजनिक भएको, आचारसंहिताविपरीत विभिन्न मतदानस्थलमा हुलहुज्जत गर्ने/गराउने गरी मतदातालाई प्रभावित पारेको उजुरीमा उल्लेख छ ।
नयाँ किरण मावि भोजाड मतदानस्थलमा असहज परिस्थितिपछि बसेको सर्वदलीय बैठकमा समेत रास्वपा र रास्वपाका उम्मेदवारले आचारसंहिताको उल्लंघन गरेको स्वीकार गरेकाले कारबाहीको सिफारिस गर्ने निर्णय भएको उजुरीमा स्मरण गराइएको छ ।