© २०२३
बुटवल,१० बैसाख । चितवन क्षेत्र नं २ का दुई वटा केन्द्रमा मतदान रोकिएको छ । रवि लामिछाने समर्थकको भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै अन्य दलका समर्थकले विरोध गरेपछि भरतपुर महानगरपालिका वडा नं ११ भोजाडस्थित नयाँ किरण कमल कुसुम मावि केन्द्रमा र भरतपुरकै वडा नम्बर ७ स्थित कृष्णपुर मावि केन्द्रमा मतदान रोकिएको हो ।
भोजाडमा करिब दुई घण्टादेखि र कृष्णपुरमा आधा घण्टा देखि मतदान रोकिएको हो । नयाँ किरण मावि केन्द्रमा मतदान भइरहेको बेला लामिछानेका समर्थकहरुले नाराबाजी गरेपछि तनाव सिर्जना भएपछि मतदान रोकिएको हो ।
प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो । मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएर अवस्था सामान्य भएपनि मतदान सुरु भइसकेको छैन ।
कृष्णपुर माविमा पनि रवि लामिछाने भिड जम्मा गरेर मतदान केन्द्रमा आएको भन्दै अन्य दलकाले विरोध गरेपछि त्यहाँ पनि मतदान रोकिएको हो ।
चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, नेकपा एमालेका रामप्रसाद न्यौपाने र रास्वपा सभापति लामिछाने उम्मेदवार छन् ।