© २०२३
सँधै विद्यालय पोशाकमा पढ्न जान्छिन् । सरसफाइमा उत्तिकै ध्यान दिन्छिन् । हसिलो अनुहार । मिलेको शरीर । अनुशासनको पाठ सिकाउनै पर्दैन् । झट्ट हेर्दा उनलाइ देख्ने जो कोहिले पनि प्रश्न गरिहाल्छन्,‘बहिनी तिम्रो नाम के हो ? कति कक्षामा पढ्छौ ? पढाइ कस्तो छ ? घर कहा हो ?’ । तर, यी अनेक प्रश्नको जवाफ फर्काउन बिबिका केसीलाई नियतिले साथ दिएन ।
लक्ष्मी माध्यमिक विद्यालय झिमरुक गाउँपालिका–४ बांगेफेदीमा कक्षा ९ मा पढ्दै गरेकी बिबिका जन्मदै नबोल्ने गरी धर्तिमा पाइला टेकिन । उनी जन्मेपछि बुवा आमालाइ लागेको थियो,‘सानैमा बोलिनन् । तर, ठूली भएपछि बोल्ने छिन् ।’ समय वित्दै गयो, बिबिका हुर्कदै गइन् । तर, बोल्न सकिनन् । न त सुन्न नै सकिन् । ‘जन्मदा अलि अलि रुने, कराउने मात्र गरी’,आमा राधा केसी भन्छिन्,‘आम, आम मात्र गर्छे तर, बाक्य नै आउदैन् ।’ अहिले उनी पूर्ण रुपमा नबोल्ने, नसुन्ने भएकी छन् । इसारामा उनको दैनिकी वितेको छ । घरमा आमाले मात्र उनको इसारा राम्रोसँग बुझ्ने गर्छिन् । विद्यालयमा शिक्षकहरुले इसारा जसोतसो बुझ्छन् । कक्षाकोठामा एउटै बेन्चमा बस्ने साथीहरुले भने उनको सवै इसारा बुझ्ने गर्छन् ।
राम्रोसँग हिडडुल गर्न सक्छिन् । अरु कुनै समस्या छैन् । विद्यालय राम्रोसँग आउजाउ गर्छिन् । तीन सन्तानमध्ये उनी एक्ली छोरी हुन् । उनका एक भाइ र दाइ छन् । भाइ विकास पनि उनीजस्तै हुन् । उनीपनि बोल्दैनन्, सुन्दैनन् । लक्ष्मी मावीमै कक्षा ८ सम्म पढेर भाइले बीचमै छाडेर, मुग्लान पसे । दाई दिपनले इलेक्ट्रिक ओभरसियरसम्मको पढाइसकेर अहिले बुटवलमा जागिरे भएका छन् ।
बिबिका सानैदेखि इमान्दार र लगनशिल थिइन् । उनको लगनशिलता हाल १९ वर्षको उमेरसम्म पनि कायमै छ । ‘अनुशासित विद्यार्थी मध्यको एक हुन् उनी’,प्रधानाध्यापक कर्ण बहादुर जिसीले भने,‘सधै विद्यालय पोशाकमा आउछिन् । सफा सुग्घर पनि उत्तिकै ख्याल गर्छिन् ।’ नबोले पनि उनीसँग अनेक क्षमता छ । चित्रकला, हस्तकलामा उनलाई पछाडी पार्ने कमै भेटिन्छन् । जे देख्यो त्यसको उस्तै नक्कल गरेर चित्र बनाउन सक्छिन् । विभिन्न प्रतियोगितामा सहभागी भएर उनले पुरस्कार समेत जितेकी छन् । उनले सवैलेभन्दा ‘राम्रा अक्षर’ लेख्ने गर्छिन् । बोल्ने, सुन्ने हुने थिइन् त उनी नतिजामा समेत कक्षाकै पहिलो विद्यार्थी हुने शिक्षकहरु सुनाउछन् । धेरै टाढाका साथीहरुले लेखेका अक्षर उनले जस्ताको त्यस्तै नक्कल गरेर लेख्न सक्ने क्षमता छ । अरु विषय जसोतसो इसारामा पढ्ने गरेपनि गणित विषय बुझ्न उनलाई असहज छ । ‘गणितका शुत्रहरु कसरी सिकाउने ?’,विषय शिक्षक पदम थापाले भने,‘एकपटक हिसाव गरेपछि त्यस्तै खालको हिसाव सजिलै गर्न सक्छिन् । तर, नयाँ शुत्र प्रयोग गर्ने हिसाव सिकाउन गाह्रो छ ।’ अपांगहरुलाइ सिकाउने खालको शैक्षिक सामग्री नहुदा समेत समस्या भइरहेको उनको भनाइ छ ।
कक्षा १ मा उनलाइ प्यूठान नगरपालिकाको खैरामा संचालित सुस्त श्रवण कक्षामा पढाउन आमाले लगेपनि अभिभावकहरुसँगै बस्नुपर्ने भनेपछि राख्न सकिएन् । केहीसमय मच्छिस्थित गौमुखी इंग्लिस बोर्डिङ स्कुलमा पढेकी बिबिकालाई छुटाएर लक्ष्मी मावीमै भर्ना गरियो । अहिले उनी नियमित रुपमा यसै विद्यालयमा पढ्छिन् । साथीले लेखेका कुरा नक्कल गरेर पढ्ने गरेको प्रधानाध्यापक जिसीले जानकारी गराए । शुरुदेखि नै यसैगरी पढ्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । माध्यमिक शिक्षासम्मको पढाइ सकाएपछि उनलाई प्रयोगात्मक सहितको प्राविधिक विषय पढाउनुपर्ने जिसीले सुझाव दिएका छन् । ‘बिबिकाको क्षमता धेरै सिपमुलक क्षेत्रमा देखिन्छ’,उनी भन्छन्,‘चित्रकला र हस्तकलामा अझ राम्रो प्रतिभा छ ।’
जीवन उपयोगी सिपले मात्र उनको भविष्य उज्जवल बन्नसक्ने शिक्षकहरुको अनुभव छ । विद्यालयमा बिबिकाजस्तो अन्य कुनै विद्यार्थी छैनन् । सयौँ विद्यार्थीको भिडमा उनी मात्र फरक क्षमताको विद्यार्थी हुन् । बाटो देखाउने असल अभिभावक भएमा उनले सिपमुलक क्षेत्रमा राम्रो कला देखाउन सक्ने विद्यालय परिवारले जनाएको छ । उनले नेपाल सरकारबाट ‘ख’ वर्गको अपांग परिचय पत्र पाएकी छन् । मासिक रुपमा तीनसय रुपैया अपांग भत्ताबाट बुझ्दै आएकी छन् ।