© २०२३
धेरजसो बालबालिकाहरू विद्यालय जान आनाकानी गर्ने प्रशस्त उदाहरण भेटिन्छन् । विद्यालय गएपछि घर फर्किन उनीहरूलाई अझ हतार हुनेगर्छ । कतिपय अभिभावकहरूलाई आफ्ना सन्तानलाई विद्यालय पु¥याउनै मुश्किल पर्ने गरेको समेत अनुभव देखिन्छन् । तर, ज्योती प्राथमिक विद्यालय माण्डवी गाउँपालिका–५ चकचके प्यूठानका बालबालिकाहरू घरमा भन्दा विद्यालयमै रमाउन बढी लालायित हुन्छन् । कारण,‘बालमैत्री बातावरण ।’
विद्यालयले बालमैत्री संरचना निर्माण गरेपछि बालबालिकाहरू आकर्षित हुँदै जान थालेका हुन् । दुइवर्ष अघि विद्यालय प्रांगणमै बनाइएका बालमैत्री विभिन्न संरचनाले उनीहरूको मन तानेको छ । विद्यालय आँगनमा पिङ, चिप्लेटी, टायरको टनेल, बालमैत्री पानीका धारा निर्माण भएका छन् । ‘घरमा भन्दा विद्यालयमै बालबालिकाहरू धेरै समय बिताउन चाहान्छन्’, बालविकासमा कार्यरत शिक्षिका विष्णुमाया बस्नेतले भनिन्,‘ईन्टरवलमा बालवालिकाहरूले समय बिताएको पत्तो पाउँदैनन् ।’ बालमैत्री संरचनाले गर्दा बालबालिकाहरूको विद्यालयमा उपस्थिति नियमित हुँदै गएको उनको भनाइ छ । विद्यार्थीको समग्र सिकाइ उपलब्धीलाई समेत यसले साथ दिएको उनी बताउँछिन् ।
बालविकासदेखि कक्षा पाँचसम्म ९६ जना बालवालिकाहरू अध्ययनरत रहेको प्रधानाध्यापक केशवराज शर्माले जानकारी गराए । गाउँपालिकाभित्र पर्ने सिमलचौर, कालीखोला, चकचके लगायतका बालबालिकाहरू यहाँ पढ्न आउने गरेका छन् । ‘बालबालिकालाई रमाइ रमाई पढ्ने वातावरण मिलाएका छौँ’,उनी भन्छन्,‘घरभन्दा स्कुल प्यारो लाग्न थालेको छ ।’ बालबालिकाहरूको सिकाइ उपलब्धी ६६ प्रतिशत रहेको उनले सुनाए ।
‘गर्दै–सिक्दै, खेल्दै–सिक्दै’को अवधारणा अनुसार विद्यालय प्रशासन अघि बढेको उनी बताउँछन् । तीन कक्षासम्म विद्यार्थीका लागि भुइँबसाइँको समेत व्यवस्था मिलाएको उनले जनाए । ‘दण्डरहित बातावरणमा पढ्ने व्यवस्था मिलाएका छौँ’,शर्माले भने,‘बालबालिकालाई गाली गरेर होइन, मायाँ गरेर पढाउने गर्छौ ।’ बालमैत्री भौतिक संरचना बनाउनका लागि अभिभावकहरूले समेत साथ दिएको शर्माले जानकारी गराए । गत जेठमा विद्यालको स्तरोन्नतीका लागि महायज्ञ समेत संचालन गरेर रकम बचत गरेको शर्माले जानकारी दिए । गाउँघरमा सन्तान जन्माउने चलनमा कमी आउँदा विद्यार्थी भर्नाको दर कमीहुँदै गएको उनी बताउछन् । विद्यालयमा बालविकासका दुई जना सहित सातजना शिक्षकहरू कार्यरत रहेका छन् । शिक्षक अनुपातमा विद्यार्थी संख्यामा कमी भएको बताउँदै शर्माले आगामी शैक्षिक शत्रमा भर्ना दरलाई बढाउने योजनाका साथ अघि बढेको उल्लेख गरे । बालमैत्री संरचनामा विद्यालय अघि देखिएको माण्डवी गाउँपालिकाका स्रोतव्यक्ति बोधिराज घिमिरले जानकारी गराए । उनका अनुसार गाउँपालिकाभरी २६ सामुदायिक र दुइवटा संस्थागत विद्यालय संचालनमा छन् । शिक्षक अनुपातको तुलनामा विद्यार्थी कम भएकाले संख्या बढाउन पहल गर्न उनले विद्यालयलाई आग्रह गरे ।