© २०२३
राज्य सञ्चालन गर्ने नेताहरूबाट मुलुकको समृद्धिको नारा लगाइन थालेको निकै लामो समय भइसकेको छ । संघीय सरकारमा रहेका वा नरहेका नेताहरू देखि गाउँपालिकाको वडास्तरसम्मका नेता, कार्यकर्ता सबैको मुखबाट समृद्धिकै कुरा सुन्न पाइन्छ । समृद्धिको पदावली प्रयोग नगर्दासम्म भाषणको बान्की नै नमिल्ने भएको छ । तर, ब्यवहारमा हेर्दा त्यो समृद्धि कुन चराको नाम हो थाहा छैन । समृद्धिको परिभाषा निकै फराकिलो छ । निकै ओजिलो छ । जसलाई नेताहरूले अत्यन्तै हलुका रूपमा लिइरहेका छन् । राष्ट्रपतिलाई १८ करोडको गाडी किन्नुजस्ता कुरालाई समृद्धिसँग जोड्ने गरिएको छ । चुनाबी बाटोबाट जनप्रतिनिधि बनेकाहरूले राज्यबाट पाउने तलब भत्तालाई समृद्धि ठानिएको छ । विगतमा छ महिना, एक बर्षमा फेरिने सरकारका प्रधानमन्त्री, मन्त्रीहरूले पाउने सुबिधालाई समृद्धिको दर्जामा जोडिएको छ । यहि कुरालाई समृद्धि ठान्ने हो भने कुरा बेग्लै हो । एउटा वर्गको लागि त्यो समृद्धि आइसकेको छ । सत्तामा बसेका र बाहिर रहेर पनि सत्ताबाट फाइदा उठाएकाहरूको जीवनस्तरलाई हेरियो भने यहाँ समृद्धि नै समृद्धि देखिन सक्छ । सडकमा उनीहरूका चिल्ला कारहरू गुडिरहेका छन् । पाँचतारे होटेलहरूमा मिटिंग बसिरहेको छ । छोराछोरीले विदेशका महंगा स्कूल, कलेजमा पढिरहेका छन् । उनीहरूको विहेदान पाँच तारे होटेलमा हुने गर्छ । राज्यले कुस्त मात्रामा तलब भत्ता दिएको छ । विदेशमा सैर सपाटा गर्ने भत्ता पाइन्छ । जतिपनि ठूला शहरहरू छन् त्यहाँ आलिशान महलहरू खडा गरिएका छन् । यसलाई नै समृद्धिको नारा बनाइएको छ अहिले ।
समृद्धि भनेको मुलुकको चौतर्फी विकास हो । आम जनताको आयस्तर माथि उठेको अवस्था हो । राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक रूपमा जनताको पूर्ण रूपमा पहुँच हुनु हो । स्वास्थ्य, रोजगारीमा पहुँच पुग्नु हो । मुलुकमा रोजगारी नपाएर अहिले दैनिक हजारौँको संख्यामा युवाहरू विदेश धपाइएका छन् । सकुशल जान्छन् । तर, कडा काममा लादिनुपर्दा मृत्युबरण गर्न पुग्छन् । मुलुकमा जो जति बाँकी छन् उनीहरूको अवस्था पनि दयनीय छ । गाउँमा कृषि गर्नको लागि सिचाइँको ब्यवस्था छैन । युवा स्वरोजगारको कुरा नारामामात्र सीमित गरिएको छ । जमीन बाँझै रहनुको कारण विदेशबाट खाद्यान्न आयात गर्नुपर्छ । देशमा स्थापना भएका सयौँ नागरिकलाई रोजगारी दिन सकिने नाम चलेका कतिपय कारखानाहरू सरकारको निकम्मापनले गर्दा बन्द भई खिया लागेका छन् । मसिनका राम्रा पार्टपूर्जा र अन्य सामान अस्तव्यस्त पारिएका छन् । दुर दराजका बालबालिकालाई पढ्नको लागि स्कूल छैन । नदीहरूमा पुल हुँदैन । ज्यान जोखिममा राखेर पौडिएर नदी पार गर्नुपर्ने बाध्यता छ । महिलाहरूको अवस्था कस्तो छ, कस्तो सुरक्षाको प्रत्याभूति गर्न पाएका छन् भनेर हेर्न निर्मला पन्तलाई हेर्दा देखापर्छ ।
देशलाई समृद्ध तुल्याउने नै हो भने सबैभन्दा पहिला नेताहरूमा राजनैतिक प्रतिवद्धता हुनुपर्छ । निष्ठाको राजनीति गर्नुपर्छ । जनतासँग सहकार्य गर्न सक्नुपर्छ । जनतासँग श्रम गर्न तयार हुनुपर्छ । जनताको अवस्थासँग आफ्नो अवस्थालाई मिलान गर्न सक्नुपर्छ । त्यो चरित्र अहिले भ्रष्ट भएको छ । यस्तो भ्रष्ट चरित्रले देशमा कसरी समृद्धि ल्याउन सक्ला ? अख्तियारीको दुरूपयोग गर्दै भ्रष्टाचारलाई जोड दिने, निजी सुबिधामा केन्द्रित हुने होड चलेको मुलुकले समृद्धिको काँचुली फेर्न सक्ने आशा कसरी राख्न सकिन्छ ? जनताले दुई छाक पेटभर खान पाएका छैनन् । बालबालिका कुपोषणको शिकार भई अकालमा मरिरहेका छन् । शहरमामात्र स्वास्थ्य सेबा खुम्चाइएको छ । गाउँमा औषधि मुलो पाइँदैन । रामभरोसे बाँचेका जनताबाट अनावश्यक कर अशुलिएको छ र मुट्ठीभरका शक्तिशालीको आम्दानीमा परिणत गरिएको छ । सम्पन्नहरूका शहरमा गुडेका केही थान गाडी घोँडालाई मापदण्ड बनाएर समृद्धिको दिशामा जान सकिँदैन । सबैभन्दा पहिले आफूहरू रूपान्तरित हुनु जरुरी छ ।