© २०२३
प्रकृतिले मानिसलाई दुई लिंगमा विभाजन गरिदिएको छ । पुलिंग र स्त्रीलिंग । प्राणीको उत्पत्तिको लागि यसो हुनु जरुरी थियो । यो न कुनै भेदभावको लागि थियो न त हिंसा, अन्याय, अत्याचारको लागि । प्रकृतिमा पुलिंग र स्त्रीलिंगको समान अधिकार छ । समान कर्तब्य छ । तर, मानिसमा जुन समय देखि बस्तुको क्रय विक्रय शुरु भयो त्यतिबेला देखि लिंगलाई पनि क्रय विक्रयको बस्तु बनाइयो । अहिले समाजमा यसले बिकराल रूप लिइरहेको छ । पितृसत्तात्मक युगको शुरु भएपछि महिलाहरू बजारमा सजाउने बस्तु बन्दै गए । मालिकहरूका लगानी र नाफाका बस्तु बन्दै गए । छोरी बेच्नको लागि ज्वाईंलाई किन्नुपर्ने अवस्था बन्दै गयो । रुढीवादी धर्म परम्पराले यसलाई नराम्रोसँग मलजल गरिदियो । कन्यादानको नाममा नाबालक छोरीहरूमाथि बलात्कार गरायो ।
समाजमा आफूलाई शक्तिशाली देखाउनको लागि दरबारहरूमा छोरीका रूप र जवानी बेच्दै दरबारिया पहुँच बढाउने गरियो । यसले मनी र मसल हुनेलाई यौनधन्धा र महिला क्रय विक्रय चलाउन बाटो खोल्यो । नेपालको सन्दर्भमा भन्नुपर्दा अहिले लाखौँ युबतीहरू बेश्यालयहरूमा शरीर बेच्न र विभिन्न संक्रामक रोगको शिकार हुन बाध्य छन् । नारकीय जीवन जिउन बाध्य छन् ।
आज अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्ध दिवस हो । समाजको संरचनाअनुसार अहिले पुरुषबाट महिलामाथि हिंसा भएको कुरालाई इन्कार गर्न सकिँदैन । किनभने जति पनि लैंगिक हिँसा भएका घटना बाहिर आएका छन् अपवाद बाहेक ९५ प्रतिशत पुरुषबाट महिलामाथि नै हिंसा भइरहेका छन् । किनभने संरचना नै पितृसत्तात्मक छ । पुरुषको हातमा सत्ता छ । सम्पति छ ।
घरको बागडोर छ । उसको गोत्र, थरमा महिलाहरूलाई बदलिनु पर्छ । पुरुषले जे जसो गरे पनि सहनुपर्ने बाध्यता छ । आफ्नो हातमा निर्णायक शक्ति लिएको पुरुषले महिलालाई जे जसो गरे पनि दोस्रो दर्जाको बनेर सहनु पर्छ । किनभने उनीहरूको हातमा अधिकार नै दिइएको छैन । पितृसत्तात्मक समाजले सत्ता चलाएको छ । आफ्नो अनुकूलका कानुनहरू बनाइएका छन् । संबिधान कोरिएका छन् । विधेयकहरू लेखिएका छन् । महिलालाई समान रूपमा अधिकार नै दिइएको छैन । जागरुक भए भने अधिकार दिनुपर्ला भन्ने डरले चुलो चौकोबाट माथि उठ्न नै दिइएको छैन । अझै पनि गाउँघरमा हेर्ने हो भने बालविवाह, अनमेल बिवाह, छाउपडीले महिलाहरूलाई गाँजेको देख्न सकिन्छ ।
भनिन्छः अधिकार मागेर पाइँदैन । अधिकारजस्तो कुरा कसैले खुसीसाथ दिँदैन । न राजाले लोकतन्त्रवादीलाई खुसीले अधिकार दिएका थिए, न त लोकतन्त्रवादीहरूले गणतन्त्रवादीलाई खुसीले अधिकार दिएका थिए । अधिकार प्राप्त गर्नको लागि आन्दोलन गर्नुपर्छ । अधिकार खोसेरमात्र पाइन्छ । आदीम साम्यवादी कालको मातृसत्ता पुरुषहरूले खोसेर प्राप्त गरेका थिए । दास मालिक युगबाट सामन्तवादी युगमा आउनको लागि ठूलो संघर्ष गर्नुपरेको थियो । सामन्तवादी युगले नै महिलाहरूलाई बैधानिक रूपमा अधिकारबिहीन बनाएको थियो । त्यतिबेला खोसिएको अधिकार प्राप्त गर्नको लागि महिलाहरूले सबैभन्दा पहिला त्यसको जरो चिन्न र उखेल्न सक्नुपर्छ ।
त्यसको छहारीमा बसेर हात थापेर आर्तनाद गर्दैमा अधिकार पाउन सकिँदैन । समानताको लडाइमा महिलाहरू नहोमिएसम्म पितृसत्तात्मक प्रणालीको जरो हल्लिनेवाला छैन । लैंगिक हिंसाको अन्त्यको लागि महिलाहरू नै मैदानमा ओर्लनु पर्छ । अहिले लैंगिक हिंसा विरुद्ध एक हप्ते अभियान चलाइएको छ । यसलाई तारे होटेलका कार्यक्रममा समेट्न हुँदैन । गैरसरकारी संस्थाहरूले दिने भत्ता र ख्वाउने नास्तामा भुलिनु हुँदैन । सकारात्मक अभियानको रूपमा अगाडि बढाउनु जरुरी छ ।