© २०२३
दाङको पश्चिम पञ्चकुले देखि तुलसीपुरसम्म विद्युत लाइन बिस्तार गर्ने कार्य ३ बर्षसम्म पनि सम्पन्न हुन सकेको छैन । समयमै काम सम्पन्न नभएका कारण पश्चिम दाङबासीले लो भोल्टेजको सामना गर्नु परिरहेको छ । विभिन्न कारणहरू देखाउँदै निर्माण पक्षले समयमै काम सम्पन्न गर्न नसकेको बताएको छ ।
१८ महिनामा काम सक्ने गरी त्रिपुरेश्वर कन्डक्टर र जयदुर्गे इन्जिनिरिङ जेभिले नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगञ्जसँग १० करोड ११ लाखमा सम्झौता गरेका थिए । तर पटक पटक म्याद थप गरे पनि काम भने सम्पन्न हुन सकेको छैन । २०७३ फागुन मसान्तसम्म हापुरे–तुलसीपुर लाइन बिस्तारको काम सक्ने गरि २०७२ भदौ २० र २०७४ भदौ मसान्तसम्म तुलसीपुर देखि दुधरास सम्मको काम पुरा गर्नेगरि २०७३ असार २६ मा कम्पनीले दोस्रो सम्झौता गरेको थियो । हापुरे देखि तुलसीपुर सम्म ७ करोड र तुलसीपुर देखि दुधरास सम्म ३ करोड ११ लाख रूपैयाँमा काम गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ । बाँकेको कुसुमबाट सिधै पश्चिम दाङको पञ्चकुले स्थित सवस्टेसनमा ल्याइएको १३३ केभी क्षेमताको राष्ट्रिय प्रसारण लाइनलाई तुलसीपुरसँग जोड्न निर्माण सेवालाई जिम्मेवारी दिइएको थियो ।
तोकेको समयमा काम पुरा नहुँदा २७ महिना अघि दाङ र सल्यानलाई १५ बर्षसम्म जति उद्योगधन्दा खुले पनि पुग्ने क्षमताको प्रसारण लाइन प्रयोग विहिन भएको छ । यता निर्माण सेवाले स्थानीयबासी र सडक अबरोधका कारण समयमै काम सम्पन्न नभएको बताएको छ । स्थानीयले घर नजिकै भन्ने र सडकमा सडकको जग्गामा भन्दै अबरोध गरेको निर्माण सेवाका डाइरेक्टर सागर लुइटेलले बताए । ‘स्थानीयले आफ्नो जग्गा र घरभन्दा टाढा राख् भन्छन, सडकले मेरो जग्गा भन्दा बाहिर पोल गाड् भन्छ’ डाईरेक्टर लुईटेलले भने । विद्युतको जग्गा नभएका कारण कसरी हुन्छ समयमै काम ? उनले प्रतिप्र्रश्न गरे । नब्बे प्रतिशत काम पुरा भएको भन्दै लुईटेलले कुनै अबरोध नभए तोकेको समयमा काम सम्पन्न गर्ने दाबी गरे ।
यता नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगञ्जले कुनै अवरोध नभएको भन्दै थप गरेको समयमा पनि काम नभए कारबाही गर्ने जनाएको छ ।
प्राधिकरणले अन्तिम पटक भन्दै आगामी चैत महिनासम्म म्याद थप गरेको छ । यस समयमा पनि काम सम्पन्न नभए कुल बजेटको १० प्रतिशतका दरले बिलम्ब शुल्क जरीबाना लाग्ने प्राधिकरणका निमित्त प्रमुख गणेसदत्त भट्टले जानकारी दिए । जुन दैनिक ० दशमलव ०५ प्रतिशत बिलम्ब शुल्क जारीवाना हुन आउँछ । विद्युत बिस्तारमा कसैको अबरोध नभएको भन्दै भट्टले ११ मिटरको पोलको आवश्यक परेको र त्यो पनि प्राधिकरणले २ दिन अघि उपलब्ध गराएकाले अब कुनै समस्या नभएको बताए । सडक छेउमा गाड्ने पोल १० मिटरको भएकाले गाडिलाई छुन सक्ने भन्दै आवश्यक पर्ने ५० वटा ११ मिटरको पोल दिएको प्राधिकरणले बताएको छ । इमान्दारी पूर्वक काम गरेमा अबको एक महिना भित्र काम सम्पन्न हुने प्राधिकरण बताउँछ । डबल सर्किटमा स्टील ट्यूवलर पोलमा विस्तार गरिन लागिएको प्रसारण लाइन एउट तुलसीपुरको सवस्टेसन र अर्को दुधरास सम्म विस्तार गरिने छ । दुधरासका लागि तुलसीपुरको गहतेखोला देखि बबई नदिको किनारै किनार हुदै पत्रे खोलाबाट ३३ केभिको लाइन विस्तार गरिने छ । पञ्चकुलेको लाइन तुलसीपुरमा जोडिने वित्तिकै बर्षौ देखि कम भाल्टेजको समस्या खेप्दै आएका पश्चिम दाङ र सल्यानका लाखौं ग्राहकले राहत पाउने प्राधिकरणले बताएको छ ।