© २०२३
बाँकेमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । छ्यालिसौं जिल्लाका रूपमा बाँके जिल्लामा आईतबारबाट स्वास्थ्य बीमा लागू भएको हो । तर यसको पूर्ण कार्यान्वयन भने माघ महिनाबाट हुने देखिएको छ । आईतबारबाट सरोकारवाला निकायहरूलाई स्वास्थ्य बीमाका बारेमा प्रशिक्षण दिने र स्थानीय तहमा समिति गठन गर्ने काम सुरु भएको छ ।
पहिलो दिन बाँकेको कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा स्वास्थ्यकर्मी, नागरिक अगुवालाई बीमा कार्यक्रमका बारेमा प्रशिक्षण दिने काम भएको छ भने सम्बन्धित स्थानीय तहका प्रमुखको संयोजकत्वमा स्थानीय तह स्वास्थ्य सुरक्षा संयोजन समिति गठन गरिएको छ । अन्य स्थानीय तहमा चाँडै गठन गरिने स्वास्थ्य बिमान बोर्डका गणेश आचार्यले जानकारी दिएका छन् । उनका अनुसार अन्य गाउँपालिकामा समिति गठन भइसकेपछि स्वास्थ्यकर्मी र सरोकारवाला निकायका प्रमुखलाई प्रशिक्षण दिइने छ । ‘समिति गठन, प्रशिक्षणको काम र दर्ता सहयोगी गठन गर्दा समय लाग्छ । माघ महिनाबाट दर्ता सहयोगी घर पुगेर बीमा गराउँछन् ।’— स्वास्थ्य बीमा बोर्डका रमेश आचार्यले जानकारी दिएका छन् ।
प्रशिक्षणको काम सम्पन्न भइसकेपछि प्रत्येक वडामा दर्ता सहयोग चयन गरिसकेपछि उनै दर्ता सहयोगीले घर—घरमा गएर बीमा गराउने छन् । स्वास्थ्य बीमा कार्यक्रम परिवारमा आधारित बृहत साझेदारी कार्यक्रम हो । यसमा पाँच जना परिवारले वार्षिक रूपमा प्रति परिवार रु. २५ सय तिर्नुपर्छ । परिवारमा ५ जना भन्दा बढी सदस्य भए, प्रति परिवार थप ४ सय २५ का दरले रकम थप्नुपर्छ । यसो गर्दा प्रत्येक परिवारले उपचार खर्च बापत रु. ५० हजार पाउँछन् । बीमा गरिसकेपछि प्राप्त हुने परिचयपत्र देखाए सम्झौता भएका अस्पतालमा बीमा बापतको उपचार निःशुल्क हुन्छ ।
बाँकेमा भेरी अन्चल अस्पताल, नेपालगन्ज शिक्षण अस्पताल, कोहलपुर मेडिकल कलेज, फत्तेबाल आँखा अस्पताल र सम्बन्धित गाउँपालिकाको स्वास्थ्यचौकीमा उपचार बिमान अन्तर्गत निःशुल्क हुन्छ । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बीमा कार्यक्रम सफल पार्नु सबैको जिम्मेवारी भएको बताए ।