© २०२३
आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस हो । सहनु भनेको क्रियामा प्रतिक्रिया नदेखाउनु हो । महात्मा गान्धीको सन्दर्भमा भनिन्छः उनलाई कसैले एउटा गालामा हान्यो भने उनले अर्को गाला पनि थापिदिन्थे । त्यो भनेको सहनशीलता हो । त्यसैले पनि होला उनलाई महात्मा (ठूलो आत्मा भएको) भन्न थालियो । गौतम बुद्ध पनि निकै सहनशील थिए भन्ने कुरा उनका विषयमा लेखिएका आलेखहरूमा पढ्न पाइन्छ । घरमा काम गर्ने छोरा भतिजालाई बुद्धले संघमा समाबेस गरेको विषयलाई लिएर मानिसहरूले बुद्धलाई खुबै गाली गर्थे । तर, बुद्धले कुनै प्रतिक्रिया नदेखाई हाँसेर उनीहरूको गाली सुन्थे । गाली गर्नेहरूको मन फेरिन्थ्यो । माफी मागेर फर्कन्थे । कति गाली गर्नेहरू बुद्धका चेला बन्न आउँथे । कैयौँ मानिसहरू यस्ता स्वभावका हुन्छन् जसले क्रियामा प्रतिक्रिया देखाउँदैनन् । मानव स्वभाव अनुसार क्रियामा तत्कालै प्रतिक्रिया देखाइयो भने त्यो झगडा, मारपिटमा विकसित हुन्छ । त्यसले गुट, समूह, खडा गर्छ । लाठी, भाला, अन्य अस्त्रशस्त्रहरू बोकाउँछ । रिस राग बढाउँछ र समाजलाई नै नोक्सानी पुराउँछ । त्यसैले सहनशीलताको हतियारबाट मानिस अगाडि बढ्नु पर्छ भन्ने सन्देश आजको सहनशीलता दिवसले दिन खोजेको हो ।
बिज्ञानको आधारमा भन्नुपर्दा हरेक बस्तुको क्रियाबाट त्यसको प्रतिक्रिया आउँछ । जस्तो हवा भरिएको बललाई भुइँमा पछारियो भने त्यो उफ्रन्छ । पछार्नु क्रिया हो भने बल उफ्रनु प्रतिक्रिया हो । कुनै पनि बस्तुले प्रतिक्रिया दिएन भने क्रिया के हो भन्ने नै जानकारी हुँदैन । जब कुनै पनि बस्तु अस्तित्वमा आउँछ त्यसमा क्रिया र प्रतिक्रिया स्वभाविक रूपमा एकैसाथ आउँछ । आदीम साम्यवादी युगको प्रतिक्रियास्वरूप दास मालिक युग आयो । दास मालिक युगमा प्रतिक्रियास्वरूप सामन्तवादी युग आयो । अहिले पूँजीवादी युगको बोलबाला छ । यसमा प्रतिक्रियास्वरूप समाजवादी युग अगाडि देखा परेको छ । पूँजीवादभित्रै अनेकन प्रतिक्रियाहरू देखा परेका छन् । नेपालको सन्दर्भमा संसदवाद, संबैधानिक राजतन्त्र, गणतन्त्र, लोकतान्त्रिक गणतन्त्र, जनताको बहुदलीय जनवाद, प्रजातान्त्रिक समाजवाद यी सबै क्रियाबाट उत्पादित प्रतिक्रियाहरू हुन् । समाजवादी युगभित्र पनि थुप्रै क्रिया र प्रतिक्रिया देखा पर्दैछन् । जहाँ क्रिया हुन्छ त्यहाँ प्रतिक्रिया हुनु जरुरी हुन्छ । तर, समाजको हितको लागि मानिसले गर्ने ब्यवहारहरूमा तत्काल प्रतिक्रिया नदेखाउनु, कसैले देखाएको ब्यवहारमा सम्झौता, वार्ता आदिबाट समस्यालाई हल गर्नु नै सहनशीलता हो ।
सहनुको अर्थ यो होइन कि कसैले अन्यायपूर्ण ब्यवहार गरिरहोस् त्यसलाई टुलुटुलु हेरेर सहेर बस्ने । सहनशीलताको पनि निश्चित सीमा हुन्छ । सहनुको सापेक्षता हुन्छ । कतिसम्म सहने ? कुन हदसम्म सहने ? निरपेक्ष रूपमा कसैले कुनै कुरामा पनि सहिरहन सक्तैन । पञ्चायतीकालमा मानिस बोल्न, लेख्न समेत नपाउने अवस्था थियो, सत्तामा पुगेकाहरूले मनपरी गरेका हुन्थे । राजा र राजपरिवारका सदस्यहरूले जन्मनुअघि देखि नै तलब भत्ता पाउने गर्थे एकातिर भने अर्कोतिर प्रजाहरूले दिनभरी काम गरेर पनि एक छाक खान नपाउने अवस्था थियो । घरबास लुटिन्थ्यो । शोषण दमनको कुनै सीमा थिएन । जनताले सहन सकेनन् । विद्रोह गरे । त्यसयता अर्को जनयुद्धको विद्रोह भयो । किनभने बहुदलीय ब्यवस्थामा पनि जनताका अबस्थामा कुनै सुधार आएन । पञ्चहरू नै यो वा त्यो सिँढीबाट सत्तामा पुगे । पञ्चायती संस्कारले सत्ता चलाउन थालियो । अहिले फेरि त्यहि संस्कार सत्तामा हाबी भएको छ । जनताले बिस्तारै सहनशीलता गुमाउँदै गइरहेका छन् । अहिले मात्रात्मक रूपमा सहनशीलता गुम्दैछ । सत्तामा रहेकाहरूको यहि स्वभाव रहेमा भोलि जनताको सहनशीलता गुमेर गुणात्मक अवस्थामा पुग्यो भने त्यो सम्हालिनसक्नु हुनेछ । सहनशीलतालाई यो अर्थमा पनि बुझ्नु जरुरी हुन्छ ।