© २०२३
तिहार शुरु भएको दोस्रो दिनलाई कुकुर तिहार तथा नरक चतुर्दशी भनेर हिन्दु धर्मशास्त्रमा भनिएको छ । नरक भनेको फोहर बस्तु हो । अयोग्य, अराजक, अमानसिक बस्तुलाई नरक भनेर भनिन्छ । राजनीतिमा अठारौँ शताब्दी मानिसका लागि नारकीय जीवन थियो भन्ने गरिन्छ । नेपालको पञ्चायती कालमा जनताले नारकीय जीवन ब्यतीत गर्नु परेको भनेर लेखिएका दस्ताबेजहरू अहिले पनि पढ्न पाइन्छ । जब कुनै घरमा परिवारकाबीचमा झै झगडा भइरहन्छ त्यो घरलाई नर्कको संज्ञा दिइन्छ । नर्कजस्तो घर भनिन्छ । कसैले किरिया हालनुपर्दा तपाईंको नर्क खानु भनेर किरिया हाल्छ । त्यसैले नर्क के हो भनेर ब्याख्या गरिरहनु परेन । धर्मशास्त्र अनुसार आज बिहानै झिसमिसेमा नदी तथा तलाउमा गएर एउटा पात वा टपरीमा पातै पाला बनाएर तेल हाली बत्ती सल्काई त्यसमाथि जनै पूर्णिमाको दिनमा बाँधिएको डोरा पनि राखेर बगाइदिने गरिन्छ । त्यसपछि शरीरमा तेल घसेर सफासँग नुहाइन्छ । यसैलाई नर्क बगाएको भन्ने मान्यता छ ।
कुकुरको तिहार किन मनाइन्छ यसमा अनेकप्रकारका किंबदन्ती रहेका छन् । आज मानिसले कुकुरलाई फूलको माला, टिका लगाई मिठो खाना खान दिने चलन छ । कुकुरका शौकिनहरूले आज कुकुरलाई राम्रा कपडा किनेर पनि लगाइदिन्छन् । कुकुर मानिसको बफादार रक्षक हो । कुकुरसँग निकै धेरै गुणहरू हुन्छन् । घ्राण शक्ति त कुकुरमा अद्भूत नै हुन्छ । त्यसैले कुनै पनि अपराधहरू पत्ता लगाउनको लागि प्रहरीहरूले तालिम दिएर कुकुरलाई प्रयोग गर्ने गर्दछन् । पाइला सुँघेर वा कुनै बस्तु सुँघाएर कुकुरलाई पठाइयो भने त्यसले अपराधीलाई पत्ता लगाउँछ । बफादार यसकारण भनिएको हो कि कुकुर घरमा छ भने चोरी चकारी हुँदैन । खेत, बारीमा गाई गोरुहरू पसे भने कुकुरले लखेट्छ । रातभरी जाग्राम बसेर घरको रखवाली गर्छ । अर्को कुरा कुकुरलाई कतिपय शिकारको लागि पनि प्रयोग गरिन्छ । कुनै पनि शिकारयोग्य जनाबर देख्योभने कुकुरले त्यसलाई लखेट्दै मालिक भएको ठाउँमा ल्याउने गर्छ । शिकारलाई भेटिहाल्यो भने टोकेर घाइते तुल्याइदिन्छ । आदीम युगमा पनि मानिसलाई शिकारको लागि कुकुरले हरदम सहयोग गरेको उल्लेख छ ।
पाल्तु वा परिचित कुकुरले मानिसलाई निकै मायाँ गर्छ । आफ्नो मानिस देख्यो भने लुट्पुटिँदै नजिक गएर स्वागत गर्छ भने शत्रु देख्यो भने त्यसमाथि जाइलाग्छ । सम्पतिको सीमा कति हो उसलाई राम्रोसँग थाहा हुन्छ । त्यसको संरक्षण गर्न कुकुरले हमेसा आफूलाई क्रियाशील राख्छ । कैयौँ मानिसलाई यसले मृत्युको मुखबाट जोगाएका घटनाहरू पनि छन् । मालिक संयोगले दुर्घटनामा प¥यो भने डाक्टर बोलाउन दौडन्छ । त्यसकारणले पनि मानिसले कुकुर पाल्ने गरेका हुन्छन् । कुकुर वातावरणीय हिसाबले पनि मानिसको मित्रु बन्न सकेको छ । आजभोलि त सबैजसो मानिले पाइखाना बनाएका छन् । पहिले मानिसको दिसा कुकुरले खाएर सफा बनाइदिन्थ्यो । घर्षने विषालु जनाबरहरूलाई घरमा आउन दिँदैनथ्यो । त्यहि गुणको आधारमा मानिसले कुकुरलाई तिहारको बेलामा माया गरेर फूलमालाले सिँगारेर, कानमा तेल हालिदिएर मीठो खान दिएर खुसी पार्ने गर्दै आएको छ । कुकुरलाई इन्द्रको छद्म रूप पनि भन्ने गरिन्छ ।