© २०२३
नेपालको राजनीतिमा पार्टी प्रमुखले नै सरकार प्रमुखको जिम्मेवारी हेर्दै आएको परिप्रेक्षमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको कार्यभार आफूले नहेर्ने गरी अर्का अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी सुम्पेका छन् । यसले नयाँ तर, हलुका सन्देश दिएको छ । पार्टीको काम, सरकारको काम एकै ब्यक्तिले गर्ने गर्दा न पार्टीले राम्रो स्याहार पाउँछ न त सरकारले नै । वास्तवमा यो काम पहिला नै गर्नुपर्ने थियो । ढीलै भए पनि गरियो । यसलाई स्वागत गर्नुपर्छ । पार्टीको केन्द्रीय कमिटीमामात्र हैन, प्रदेश, नगरपालिका, गाउँपालिकामा पनि यो थिति बसाल्नु पर्छ । यसले पार्टीलाई मजबुत त बनाउँछ नै, सबै नेताहरूले पार्टीमा उच्च भूमिका निर्बाह गर्ने अबसर पाउँछन् । कसैमा ब्यक्तिगत इश्र्या रहन्न । पार्टीमा पनि तिनै, सरकारमा पनि तिनै भन्ने समस्या हटेर जान्छ । नयाँ मानिसलाई नेतृत्व दिँदा जिम्मेवारी बढ्नुका साथै कार्यकौशलता पनि बढेर जान्छ । सबै नेताहरू स्पात झैँ खारिएर जाने अबसर प्राप्त हुन्छ । सरकारमा पुग्दासाथै पार्टीको भूमिका अरूलाई दिने र पार्टीको जिम्मेवारी पाउँदासाथै सरकार छाड्ने नीतिलाई विधानमै उल्लेख गर्नु आवश्यक छ ।
सरकार र पार्टीबीचको सम्बन्ध प्रगाढ हुनुपर्छ । सरकारले पार्टीलाई हैन, पार्टीले सरकारलाई सञ्चालन गर्ने भएकोले पार्टीको नेतृत्व गर्ने नेतामा त्यहि किसिमको क्षमता हुनुपर्छ । तर, नेपालका पार्टीहरू वास्तवमा मियो नभएको दाइँ हालेका गोरुजस्तो ब्यवहारका देखिन्छन् । एउटै कुरा कोही नेताले के भनेको हुन्छ, त्यसलाई अर्कोले तोडमोड गरेर अरूलाई प्रष्टाउने, माइन्युटमा दस्तखत गरेका नेताहरूले पनि आफूलाई थाहा भएन वा उहाँको ब्यक्तिगत निर्णय हुनसक्छ भन्नेजस्ता भनाइ आउने गरिरहेका छन् । नेताहरू यति धेरै बोलेका हुन्छन् कि कार्यकर्ता, जनतालाई उनीहरूको कुरा सुन्दा मीठो लाग्नुको साटो कानमा कपास कोचौँजस्तोे लाग्छ । मञ्चहरू आफ्ना ब्यक्तिगत कुण्ठा पोख्ने ठाउँ बनेका छन् । गालीगलौज गर्ने ठाउँ बनिरहेका छन् । यसले पार्टीको वजन बढाउन सक्तैन । जनतामा पार्टीप्रति वितृष्णा जगाइदिन्छ । त्यसैले पार्टीले गर्ने निर्णयलाई निकै ठोकेर बजाएरमात्र बाहिर ल्याउनु पर्छ । जसले जे बोले पनि हुने मास पार्टी बनाइनुहुँदैन । सामूहिक निर्णय र ब्यक्तिगत जिम्मेवारीलाई कडाइकासाथ पालना गर्नुपर्छ । अनुशासित कार्यकर्ता उत्पादन गर्नको लागि नेताहरूले अनुशासन पालना गर्नुपर्छ । नेता, कार्यकर्ताको जिम्मेवारी बोकेपछि जनतासँग घुलमिल भएर अगाडि बढ्न सक्नुपर्छ । सादापन र उच्च विचारबाट चल्नुपर्छ । नेपालका पार्टीका नेताहरूमा त्यो देख्न सकिँदैन ।
कतिपय कुरा बाहिरबाट पनि सिक्नुपर्ने हुन्छ । भारतकै कुरा गर्दा पार्टीका उच्च तहका नेताहरू सामान्य लवाइ खवाइमा देखिन्छन् । आफ्ना कार्यकर्ता वा जनताका घरमा बेझिझक पस्छन्, छाती मिलाउँछन् । गुन्द्रीमा बसेर अम्खोराबाट पानी खान्छन् । उनीहरूको भान्सामा पाकेका खाना खान्छन् । उनीहरूको बिछौनामा सुत्छन् । तर, नेपालका नेताहरूलाई तारे वा अन्य तारेसरहको सुबिधा भएका होटेल, रिसोर्टहरू चाहिन्छ । नेताहरूको यो देखासिकीले कार्यकर्तालाई पनि त्यहि ब्यवहार गर्न लगाएको हुन्छ । अहिले वास्तवमा भन्ने हो भने नेताहरू गाउँका जनतासँग भेटघाट गर्न पनि चाहँदैनन् । हात मिलाउन चाहन्नन् । आफ्नो हातमा जनताको हातको मयल सर्छ कि जस्तो गर्छन् । यसले जनता र नेताको बीचको दुरी घटाउँछ । यो कुरा बुझ्नु पर्छ कि जनताले नेतालाई सुकिला मुकिला भएर होटेलमा खाने बस्ने गरी पठाएका हैनन् । पैसा कमाएर घरबार जोड्न पठाएका पनि हैनन् । जनताले काम गर्नको लागि पठाएका हुन् । जनताको कामै नगरी मोजमस्ती गर्न थालियो भने त्यसको हिसाब जनताले राखेका हुन्छन् र चुनावमा अशुलउपर गर्छन् । त्यसैले पार्टीलाई मजबुत बनाउने हो भने कार्यविभाजन सही तरिकाको हुनुपर्छ । एउटै नेताले सबैतिर हात हाल्नुहुँदैन । पार्टीले सरकार चलाउनु पर्छ । नेतृत्वको विकास गर्न पार्टीलाई लेनिनवादी सांगठनिक ढाँचामा ढाल्नैपर्छ । नेताहरूले यो कुरा बुझ्नु आवश्यक छ ।