© २०२३
बुटवल, २४ माघ ।
बुटवलकी जमुना भण्डारीका छोरा कालिका मानवज्ञान माविको कक्षा २ र ४ पढ्छन् । उनका छोराहरु आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि जमुनालाई तनाव हुन थालेको छ । छोराहरुले मोबाइलमा विभिन्न एपहरू चलाउने, विभिन्न खेलमा रमाउने गर्न थाल्दा बच्चाको पढाई बिग्रिएको छ ।
उनले भनिन्, “छोराहरुले मोबाइल बढी चलाउने र किताब कम पढ्ने गर्न थालेका छन् । कोरोना महामारीका बेला अनलाइनमा पढ्थे, पछि लत लागेछ । आजभोलि बच्चालाई मोबाइलमा खेल्ने बानी बसेको छ । उनीहरुले किताब छुनै मान्दैनन्, घर बाहिर साथीहरूसँग पनि खेल्दैनन् ।”
बालबालिकाको मोबाइलप्रतिको लत देखेर अभिभावक चितिन्त बन्न थालेका छन् । जमुना जस्तै दिपा अर्याललाई पनि यस्तै तनाव छ । दिपाका दुई छोरा कक्षा ३ र १२ मा पढ्छन् । दुवै छोरा मोबाइलमा बढी भुल्न थालेका छन् । “मेरा छोराहरुको भुल्ने र खेल्ने साधन नै मोबाइल बनेको छ । पहिला फुर्सद हुनेबित्तिकै साथीसँग खेल्न जाथे”, उनले भनिन्, “आजभोलि स्कुलबाट आउनेबित्तिकै मोबाइल खोज्छन् । घरभित्र एक्लै मोबाइलमा व्यस्त हुन्छन् ।”
पछिल्लो समय बालबालिका मोबाइलप्रति बढी नै आकर्षित हुन थालेपछि अभिभावक चिन्तित हुन थालेका छन् । बालबालिकालाई खुसी राख्न मोबाइल दिएका अभिभावक अहिले पछुताउन थालेका छन् । मोबाइलको गलत प्रयोग हुँदा अभिभावकलाई समस्या हुन थालेको छ ।
बढ्दो आधुनिकतासँगै बालबालिकामा मोबाइलको प्रयोगले अभिभावक चिन्तित बन्दै छन् । पछिल्लो समय बालबालिकाको खेलौना र साथी नै मोबाइल बन्न थालेको छ । कतिपय अवस्थामा बालबालिकालाई खाना खुवाउँदा पनि मोबाइल चाहिने अभिभावकको गुनासो छ । “आफू काममा व्यस्त रहँदा बच्चालाई मोबाइल दिएर भुलाएँ, आजभोलि खाना खाँदा पनि मोबाइल चाहिन्छ”, दिपाले भनिन्, “बच्चाको क्रियाकलाप देखेर अहिले त चिन्ता बढेको छ । बच्चा मोबाइलबिना केही गर्न मान्दैनन् ।”
बुटवलको अक्सफोर्ड कलेजमा अध्ययनरत अन्जना चौरसिया आजकल मोवाईल मात्र हेरिरहन मन लाग्ने गरेको बताउँछिन् । “पहिले पहिले पढाई निकै राम्रो थियो, आजभोलि पढ्नै मन लाग्दैन, जतिबेला पनि मोवाइलमा यू ट्युव हेर्न मान लागिरहन्छ”–उनी भन्छिन् ।
बालबालिका इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोगका कारण समयमा कुनै पनि कार्य नगर्ने, भनेको नमान्ने, अटेरी र जिद्धि स्वभावका हुने र मोबाइलमै व्यस्त रहने गरेको तिलोतमा–२ की भगवती तिवारी बताउँछिन् । “बच्चाहरू पढ्दै छन्, मोवाइलमा चाहिने कुराहरू नै हेर्दै होलान् भन्यो युट्युवमा विभिन्न खालका भिडियोहरू हेर्ने, गेम खेल्ने गरेका हुन्छन,् जसका कारण उनीहरूले समयमा आफ्ना कुनै पनि काम नगर्ने, भनेको नमान्ने गर्छन्”–उनी भन्छिन् ।
अभिभावकहरू बालबालिका घरभित्रै बस्दा सामाजिक हुन नसक्ने चिन्ता व्यक्त गर्छन् । बालबालिकामा मोबाइलप्रतिको आकर्षण बढ्दै जानुमा अभिभावक नै जिम्मेवार भएको एक मनोसामाजिक परामर्शकर्ताहरु बताउँछन् । “अभिभावककै कमजोरीका कारण उनीहरूमा भोलिका दिनमा विकराल समस्या आउन सक्ने देखिन्छ”–मनोसामाजिक परामर्शकर्ता धनराज विक भन्छन् ।
मोबाइल चलाउनु नराम्रो होइन । मोबाइल, कम्प्युटर चलाएर, टेलिभिजन हेरेर ज्ञान लिन सके राम्रै हुन्छ । मोबाइल तथा सामाजिक सञ्जालबाट सही सूचना र सही ज्ञान लिएमा जीवनमा काम लाग्छ तर यसलाई लतका रूपमा प्रयोग गरेमा बेफाइदा हुनेमा सचेत हुन आवश्यक छ । अक्सफोर्ड मावि बुटवलका प्राचार्य दिनेश भुसाल पहिलेका विद्यार्थीलाई भन्दा आजकलका विद्यार्थीलाई पढाउन गाह्रो भएको अनुभव सुनाउँछन् ।
इन्टरनेटको सही प्रयोग गर्न र साइबर सुरक्षा सम्बन्धमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष फेब्रुअरी ७ मा “सुरक्षित इन्टरनेट दिवस” मनाउने गरिन्छ । “जीवनका बारेमा कुरा गर्न र भावनाहरु अभिव्यक्त गर्न इन्टरनेटमा ठाउँ बनाउँ” भन्ने नाराका साथ ‘सुरक्षित इन्टरनेट दिवस–२०२३’ नेपालमा पनि मनाइँदैछ । यस दिवसले प्रविधिको सकारात्मक प्रयोगसम्बन्धी जानकारी दिन तथा अनलाइन सुरक्षाका लागि सरकारी निकायहरू, विद्यालयहरू, अभिभावकहरू, सामाजिक संस्थाहरूका साथै बालबालिका तथा युवाहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी लिने अवसर उपलब्ध गराउँछ । तर हरेक वर्ष इन्टरनेटको लतमा परेका बालबालिकाहरुको संख्या बढ्दै जाँदा दिवस औपचारिकतामा मात्र सिमित बन्न पुुगेको गुनासो छ ।
कोभिड–१९ का कारण शैक्षिक संस्थाहरू बन्द रहँदा भर्चुअल माध्यमबाट कक्षाहरू सञ्चालन गरिए । जुनसुकै सभा, गोष्ठी तथा अन्य भेटघाट पनि जुम प्रविधिमार्फत हुन थाले । सुरुवाती तीन–चार महिना अस्तव्यस्त रहे पनि बिस्तारै मानिसहरू प्रविधिसँग नजिकिँदै गए । त्यसको प्रत्यक्ष असर अहिले बालबालिकादेखि वयष्कसम्म देख्न थालिएको हो ।